शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मरिणको मासु उद्योगमा कार्यरत  चिनियाँ नागरिकको भिसा रद्द

बुधवार , आश्विन ७, २०८३

सिन्धुली,०७ असोज — सिन्धुलीको मरिण गाउँपालिकामा रहेको निर्माणाधीन मासु उद्योगमा कार्यरत ८८ जना विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ । नेपालमा व्यापारिक तथा औद्योगिक क्षेत्रमा लगानी गर्ने अनुमति लिएर व्यवसायिक भिसामा रहेका उनीहरूलाई भिसा सम्बन्धी प्रचलित व्यवस्थाविपरीत काम गरेको पाइएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो ।

अध्यागमन विभागका अनुसार भिसा रद्द गरिएका विदेशी नागरिकमध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन् । उनीहरूलाई अब नेपालबाट निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ ।

सिन्धुलीको मरिणमा स्थापना हुँदै गरेको जियान फुड्स प्रालि अन्तर्गतको ‘नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट’ मा कार्यरत चिनिया नागरिकको भिसा रद्द गरिएको हो । उक्त परियोजना छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको बताइएको छ ।

गत साता जिल्ला अनुगमन समिति सिन्धुली र अध्यागमन विभागका प्रतिनिधिसहितको संयुक्त टोलीले उक्त मासु उद्योगको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगमा कार्यरत ५०१ जना चिनियाँ नागरिकसँग नेपालमा काम गर्न आवश्यक पर्ने ‘वर्किङ भिसा’ नभएको पाइएको थियो ।

नेपालमा रोजगारी वा श्रमसम्बन्धी गतिविधि गर्न विदेशी नागरिकले सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी कार्य अनुमति लिनुपर्ने व्यवस्था छ । तर अनुगमनका क्रममा ठूलो संख्यामा विदेशी कामदारले आवश्यक श्रम अनुमति नलिएको भेटिएपछि अध्यागमन निकायले अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको हो ।

अध्यागमन विभागले उद्योगमा कार्यरत विदेशी नागरिकको प्रवेश अनुमति, बसाइको उद्देश्य र काम गर्ने अवस्थाबारे अध्ययन गरेपछि भिसा रद्द गर्ने निर्णय गरेको जनाएको छ । विभागका अनुसार नेपालमा लगानीकर्ता वा व्यवसायिक प्रयोजनका लागि जारी गरिएको भिसा अन्य प्रकारको श्रम गतिविधिमा प्रयोग गर्न नमिल्ने भएकाले कारबाही प्रक्रिया अघि बढाइएको हो ।

मरिणमा निर्माणाधीन उक्त मासु उद्योग चीनमा प्रशोधित भैंसीको मासु निर्यात गर्ने उद्देश्यसहित स्थापना गर्न लागिएको परियोजनाका रूपमा अघि बढाइएको छ । तर उद्योग सञ्चालनको तयारीकै क्रममा विदेशी कामदारको भिसा र श्रम अनुमति सम्बन्धी विषय विवादमा परेको हो ।

अध्यागमन विभागले विदेशी नागरिकको गतिविधि, प्रवेश अनुमति र बसाइसम्बन्धी कानुनी मापदण्ड पालना गराउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया