शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

बुधवार , आश्विन ७, २०८३

सिन्धुली,०७ असोज – सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरेको हो ।

प्रशासन कार्यालयका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली हाल बंगालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रका रूपमा उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले यसको प्रभावबाट आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशभर वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ ।

मौसम प्रणालीको प्रभाव सिन्धुली जिल्लामा समेत पर्ने सम्भावना रहेको जनाउँदै प्रशासनले जिल्लाका केही तथा अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ । निरन्तर वर्षाका कारण जिल्लाका जोखिमयुक्त क्षेत्रमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको सम्भावना बढ्न सक्ने तथा नदी, खोला र खोल्सामा पानीको सतह बढेर जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

प्रशासनले नदी तथा खोला किनार, पहिरोको उच्च जोखिम भएका क्षेत्र, भिरालो जमिन र डुबान सम्भावित स्थानमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । जोखिमका संकेत देखिएमा समयमै सुरक्षित स्थानमा स्थानान्तरण हुन र आवश्यक सहयोगका लागि स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ ।

त्यस्तै, अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्न भनिएको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन पनि प्रशासनले आग्रह गरेको छ ।

सूचनामा पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न तथा नेपाल मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनाको नियमित जानकारी लिन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकाय, विषयगत कार्यालय, राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा सञ्चार माध्यमलाई समेत आ–आफ्नो क्षेत्रबाट पूर्वतयारी, सूचना प्रवाह, समन्वय र सहजीकरणमा सहयोग गर्न अनुरोध गरेको छ ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बल नेपालका लागि १११४ र जिल्ला आपतकालीन केन्द्रका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया