काठमाडौ,०६ं असोज – ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल रहेका छन् ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नेम्कुललाई नियन्त्रणमा लिएको हो । प्रहरीले दिएको जानकारीअनुसार उनले सञ्चालन गर्दै आएको सिद्धिपुर ग्यास स्टोरमा रहेका सिलिन्डरको सिल खोलेर ‘सबै सिलिन्डर खाली छन्’ भन्दै ग्यास लुकाएको आरोप लागेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले उक्त ग्यास स्टोरबाट सिलसहितका दुई थान तथा सिल नभएका तर ग्यास भरिएका २२ थान सिलिन्डर बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार बरामद भएका सिलिन्डर र घटनासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ ।
ग्यास आपूर्तिमा अनियमितता तथा उपभोक्तालाई प्रभावित पार्ने गतिविधिमाथि निगरानी बढाइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका नेम्कुलमाथि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।