शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मंगलवार , आश्विन ६, २०८३

भक्तपुर,०६ असोज – भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परी करिब ६५ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरीका अनुसार मंगलवार दिउँसो करिब ३ बजे के.एम.सी. अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्यांकेट नजिकै पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीलाई तत्काल उपचारका लागि के.एम.सी. अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएको केही समयमै दिउँसो ३ बजेर २० मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अनियन्त्रित बनेको मोटरसाइकलले सोही स्थानमा रोकिराखिएको बा.२१ च ५६७४ नम्बरको कारमा समेत ठक्कर दिएको थियो । उक्त ठक्करबाट कारको अगाडिको भागमा क्षति पुगेको छ ।

घटनामा संलग्न मोटरसाइकल चालक जुम्लाको हिमा गाउँपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सृजनानगरमा बस्दै आएका २० वर्षीय दिपेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण तथा अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया