शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु

मंगलवार , आश्विन ६, २०८३


सिन्धुली,०६ असोज –  सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ रामपुर खोलामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने लालबहादुर दोङकी श्रीमती ६५ वर्षीया चिउरी माया दोङ रहेकी छन् ।

प्रहरीका अनुसार सोमवार साँझ करिब ६ बजे रामपुर बजारबाट घरतर्फ जाने क्रममा उनलाई रामपुर खोलाले बगाएको भन्ने सूचना राति ९ बजे प्रहरी चौकी रामपुरमा प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो ।

स्थानीय बासिन्दासमेतको सहयोगमा खोजी गर्ने क्रममा खोलाले बगाएको स्थानदेखि करिब एक किलोमिटर तल राति ९ः४५ बजे चिउरी मायाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकका आफन्तको रोहबरमा शवलाई पानीबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको तथा घटनास्थललाई सुरक्षित गरिएको छ ।

घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिने जनाइएको छ । 

यसैबीच, असोज ६ गते बिहान ६ः३५ बजे जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक भरत चन्दको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थलमा मुचुल्का तयार गर्नका लागि परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया