सिन्धुली,०५ असोज — आर्थिक वर्ष २०८२/०८३ मा सिन्धुली जिल्लामा सञ्चालन तथा कार्यान्वयन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै आगामी कार्यदिशा निर्धारण गर्न आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय मातहतको जनस्वास्थ्य कार्यालय सिन्धुलीले सदरमुकामस्थित होटल प्रयासमा आयोजना गरेको दुईदिने गोष्ठीमा जिल्लाभर सञ्चालित स्वास्थ्य कार्यक्रमको उपलब्धि, सेवा प्रवाहको अवस्था, चुनौती तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।
स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयनका समग्र सूचक तथा प्रस्तुतिको कार्यसम्पादन मूल्यांकनका आधारमा गोलन्जोर गाउँपालिका जिल्लाका स्थानीय तहमध्ये उत्कृष्ट घोषित हुँदै प्रथम भएको छ । कमलामाई नगरपालिकाले दोस्रो तथा फिक्कल गाउँपालिकाले तेस्रो स्थान हासिल गरेका छन् ।
गोष्ठीका अवसरमा उत्कृष्ट स्थान प्राप्त गर्ने स्थानीय तहसहित जिल्लाका सबै स्थानीय तहलाई उनीहरूको कार्यसम्पादन तथा मूल्यांकनका आधारमा प्रशंसा–पत्र प्रदान गरिएको थियो । प्रशंसा–पत्रमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक डा. नरेन्द्र कुमार झा र जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलको संयुक्त हस्ताक्षर रहेको छ ।
जिल्लाको स्वास्थ्य सेवा विस्तार तथा व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सिन्धुली अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । स्वास्थ्य कार्यक्रम सञ्चालन तथा सेवा प्रवाहमा सहकार्य गर्दै आएका विभिन्न निजी तथा साझेदार संस्थाहरूलाई पनि सम्मान व्यक्त गरिएको छ । त्यसैगरी विद्यालय तहमा प्रत्यक्ष रूपमा स्वास्थ्य सेवामा खटिएका विद्यालय नर्सका प्रतिनिधिहरूलाई समेत सम्मान गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको समीक्षामा जिल्लाका स्वास्थ्य संस्थामार्फत प्रदान भइरहेका सेवा, खोप कार्यक्रम, मातृ तथा बाल स्वास्थ्य, पोषणलगायत विभिन्न स्वास्थ्य सूचकको प्रगति विवरण प्रस्तुत गरिएको थियो । समीक्षा क्रममा हासिल उपलब्धिको विश्लेषण गर्नुका साथै देखिएका कमी–कमजोरी पहिचान गरी सुधारका उपाय र आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने विषयमा विस्तृत मन्थन भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
गोष्ठीमा जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्थाका प्रतिनिधि, सरोकारवाला निकाय, सहयोगी तथा साझेदार संस्थाका प्रतिनिधिका साथै अन्य जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।
समीक्षाबाट प्राप्त निष्कर्ष, अनुभव र सुझावलाई आधार बनाएर आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने स्वास्थ्य रणनीति तथा योजनाको प्रारम्भिक खाका तयार गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।