शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना दुई जना घाइते

सोमवार , आश्विन ५, २०८३

सिन्धुली, ०५ असोज – सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित मरिण डाइभर्सन नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले सोमवार दिएको जनाकारी अनुसार आइतवार बिहान ८ः४५ बजे बिपी राजमार्गअन्तर्गत खाल्टेबाट खुर्कोटतर्फ आउँदै गरेको बा ३७ प २४९८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । सुनकोशी गाउँपालिका–६ न्यौपानेडाँडा निवासी २१ वर्षीय संजय तिमिल्सिनाले चलाएको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको डिभाइडरमा ठोक्किएपछि सडकबाट करिब २० फिट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तिमिल्सिनाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार उनका भतिजा, सोही स्थानका ७ वर्षीय साहिल तिमिल्सिनाको बायाँ खुट्टा र छातीमा चोट लागेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी  टोली घटनास्थल पुगेको थियो । घाइते दुवै जनाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पतालमा रेफर गरिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालकको सवारी चालक अनुमतिपत्र (स.चा.अ.प.) रहेको र मादक पदार्थ सेवन (मापसे) नगरेको पाइएको छ । घाइतेको उपचारमा परिवारका सदस्य संलग्न छन् भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । 

प्रतिक्रिया