सिन्धुली,०३ असोज — जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतका कार्यालयहरूले २०८३ साल भदौ महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नागरिक सहायता तथा जनचेतनामूलक गतिविधिमा सक्रियता देखाएका छन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार उक्त अवधिमा विभिन्न शीर्षकमा गरी ३२ वटा मुद्दा दर्ता भएका छन् भने १० वटा मुद्दा फछ्र्योट गरिएको छ ।
प्रहरीका अनुसार भदौ महिनामा लागूऔषधसम्बन्धी २, जबर्जस्ती करणीसम्बन्धी २, ज्यानसम्बन्धी कसुर १, भवितव्य ज्यान ५, झुन्डी आत्महत्या ९, बेवारिसे ज्यानसम्बन्धी १, ज्यान मार्ने उद्योग १, बैंकिङ कसुर ४, सवारी ज्यान ३, चोरीसम्बन्धी कसुर १, अभद्र व्यवहार १, जुवाताससम्बन्धी १ र ठगीसम्बन्धी १ मुद्दा दर्ता भएका छन् ।
चालु मुद्दाका प्रतिवादी पक्राउतर्फ २३ जना पक्राउ गरिएको प्रहरी विवरणमा उल्लेख छ । सार्वजनिक चासो रहेका पेन्डिङ मुद्दामध्ये ४ वटा मुद्दाको सफल अनुसन्धान गरिएको छ । फैसला कार्यान्वयनअन्तर्गत २१ जना पक्राउ गरी ९ वर्ष ४ महिना २४ दिन कैद असुल तथा ५ लाख १७ हजार ५२५ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरी २८ वटा प्राप्त भएका छन् । पीडित तथा पीडकको उमेर समूह विश्लेषण गर्दा १९–२५ वर्षका १४ जना, २६–३५ वर्षका १५ जना, ३६–४५ वर्षका १६ जना, ४६–५९ वर्षका १० जना र ६० वर्षभन्दा माथिका १ जना गरी ५६ जनाको विवरण समेटिएको छ । हराएका १८ जनामध्ये १५ जनालाई फेला पारिएको छ ।
घरेलु हिंसातर्फ शारीरिक हिंसाका ९ र मानसिक हिंसाका ४ गरी १३ वटा उजुरी आएका छन् । तीमध्ये १२ वटा मिलापत्र भएका छन् भने १ वटा अदालत पठाइएको छ । आत्महत्यासम्बन्धी ९ वटा मुद्दा दर्ता भएका छन्, जसमा पुरुष ५ र महिला ४ जना रहेका छन् ।
सुरक्षा व्यवस्थापनतर्फ प्रहरीले एलआरपी, एसआरपी, पिकेट, चेकिङ र ग्रामीण गस्ती गरी कुल २ हजार ५२५ पटक नियमित परिचालन गरेको जनाएको छ । भदौ महिनामा सवारी दुर्घटना ११ वटा भएका छन् । दुर्घटनामा २ जनाको मृत्यु, १८ जना घाइते भएका छन् भने २० जनाको उद्धार गरिएको छ ।
ट्राफिक कारबाहीबाट १ हजार २१५ वटा कारबाही गरी १३ लाख ३ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरिएको छ । भन्सार छली नियन्त्रणका क्रममा ६ केजी चाँदीसहित करिब २९ लाख २५ हजार ६०० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ ।
विपद् व्यवस्थापनतर्फ आगलागी ३, बाढी ६ र हावाहुरी १ गरी १० वटा घटना भएका छन् । विपद्का कारण १ जना घाइते, ६ वटा घर र १ वटा गोठमा क्षति पुगेको तथा करिब १२ लाख ३४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।
अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ३९० लिटर तयारी मदिरा र ३० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ । प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ एउटा ट्याक्टर नियन्त्रणमा लिई १५ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
विद्यालय तथा समुदाय केन्द्रित सचेतना कार्यक्रमअन्तर्गत आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम एक विद्यालयमा सञ्चालन गरी कक्षा ८ देखि १० सम्मका ३२ जना विद्यार्थीलाई सहभागी गराइएको थियो । प्रहरी कार्यालयको हटलाइन तथा सम्पर्क नम्बरमा १ हजार ४२५ वटा कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमार्फत २ हजार ९० जना सेवाग्राहीले सेवा लिएका छन् ।
प्रहरी कर्मचारीको मनोबल वृद्धि तथा आन्तरिक सहकार्यका लागि विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।