शुक्रवार, आश्विन २ गते २०८३

Friday 18th September 2026

सुनकोशी गुठबजारका प्रधानाध्यापक विरुद्ध यौन दुर्व्यवहारको आरोप

शुक्रवार , आश्विन २, २०८३


सिन्धुली,०२ असोज – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झागाझोलीस्थित श्री माध्यमिक विद्यालय गुठबजारका प्रधानाध्यापक विनोद न्यौपानेविरुद्ध आफ्नै विद्यालयमा अध्ययनरत एक बालिकामाथि यौन दुर्व्यवहार प्रयास गरेको आरोप लागेको छ । गत भदौ २८ गते भएको भनिएको घटनाबारे बालिकाले विद्यालयकी एक शिक्षिकालाई जानकारी दिएपछि विषय सार्वजनिक भएको हो ।

पीडित बालिकाले प्रधानाध्यापक न्यौपानेले आफूलाई दुव्र्यवहार गर्ने प्रयास गरेको भन्दै घटनाको विवरण सुनाएको भिडियोसमेत सार्वजनिक भएको छ । उक्त भिडियोमा बालिकाले प्रधानाध्यापकको नाम उल्लेख गर्दै आफूले भोगेको घटनाबारे बताएकी छन् ।

बालिकाका अनुसार घटनाको समयमा उनका अभिभावक काम विशेषले ४–५ दिनदेखि घरबाहिर रहेका थिए । त्यस अवधिमा साथी काकाका छोराछोरी मात्र राति बस्न आउने गरेका थिए । भदौ २८ गते तीजको दर खाने दिन साँझ करिब ७ बजे घर नजिकै रहेको एक पसलमा सामान किन्न गएको बेला उक्त घटना भएको उनको भनाइ छ ।

बालिकाले दिएको जानकारीअनुसार सोही स्थानमा रहेका प्रधानाध्यापक न्यौपानेले उनलाई देखेपछि बाहिर आएर विभिन्न प्रस्ताव राखेका थिए । उनले जबर्जस्ती १०० रुपैयाँ गोजीमा राखिदिएको र “आज दाजुलाई घरमा सुत्न नबोलाई म तेरो घरमा आएर सुत्छु” भन्दै प्रस्ताव गरेको बालिकाले बताएकी छन् । बालिकाले प्रधानाध्यापकले थप आपत्तिजनक प्रस्तावसमेत राखेको दाबी गरेकी छन् । त्यसपछि आफू त्यहाँबाट भागेर घर गएको उनको भनाइ छ ।

घटनापछि बालिकाले सुरुमा कक्षाकी एक साथीलाई यसबारे जानकारी दिएकी थिइन् । साथीले घटना लुकाउन नहुने भन्दै हौसला दिएपछि उनले विद्यालयकी शिक्षिकासँग कुरा गरेकी हुन् । त्यसपछि बाल क्लबमार्फत सिविन, गाउँपालिका लगायत सम्बन्धित निकायमा जानकारी गराइएको बताइएको छ ।

विद्यालयका अन्य शिक्षकहरूले भने घटनाबारे खुलेर प्रतिक्रिया दिन चाहेका छैनन् । उनीहरूले विद्यालयमा विषयबारे चर्चा भए पनि थप जानकारी दिन नमिल्ने बताएका छन् ।

सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले आधिकारिक उजुरी प्राप्त नभए पनि घटनाबारे जानकारी आएको बताएका छन् । उनले सम्बन्धित शिक्षकलाई शिक्षा समितिमा बोलाएर बुझ्ने र आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए ।

यसअघि पनि प्रधानाध्यापक न्यौपानेको आचरणबारे विवाद र उजुरी आएको दाबी गरिएको छ । स्रोतका अनुसार विगतमा समेत उनीविरुद्ध यस्तै प्रकृतिको उजुरी परेको र छानबिन प्रक्रिया अघि बढाइएको थियो । यद्यपि ती आरोपहरूबारे आधिकारिक निष्कर्ष सार्वजनिक भएको पुष्टि हुन बाँकी छ ।

न्यौपाने दुई वर्षअघि विद्यालयको प्रधानाध्यापक नियुक्त भएका हुन् । उनी राजनीतिक पहुँचका कारण पदमा पुगेको आरोपसमेत लाग्दै आएको छ । यसअघि विद्यालयको पोसाक र परिचयपत्रसहित राजनीतिक नारासँग जोडिएको गतिविधि गरेको भन्दै उनी विवादमा आएका थिए ।

पीडित बालिकाका अभिभावकले आफूहरू घटनाको समयमा काठमाडौंमा रहेको र घर फर्किएपछि छिमेकीमार्फत घटनाबारे जानकारी पाएको बताएका छन् । उनीहरूका अनुसार विद्यालयले असोज २ गते छलफलका लागि बोलाएको जानकारी छोरीले दिएकी छन् ।

घटनाबारे प्रतिक्रिया लिन प्रधानाध्यापक विनोद न्यौपानेसँग पटक–पटक सम्पर्क प्रयास गरिए पनि उनले फोन नउठाएको बताइएको छ । घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया सम्बन्धित निकायबाट अघि बढ्ने जनाइएको छ । स्रोत सिन्धुली मंसिर चार

प्रतिक्रिया