सिन्धुली,२८ जेठ — पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरूको सेवा, स्याहार र संरक्षणमा निरन्तर समर्पित स्याहारकर्ताहरूको योगदानलाई कदर गर्दै कमलामाई नगरपालिकाले सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार कमलामाई नगरपालिकाको सभाहलमा आयोजित ‘पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरूका स्याहारकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन कार्यक्रम’मा वडा नं. १ देखि १४ सम्मका प्रत्येक वडाबाट चार÷चार जनाका दरले छनोट गरिएका कुल ५६ जना स्याहारकर्तालाई सम्मान तथा प्रोत्साहन गरिएको हो । अपांगता भएका व्यक्तिहरूको निरन्तर सेवा र स्याहारमार्फत समाजमा मानवीयता, जिम्मेवारी र समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्रकमार पोखरेलले पूर्ण अशक्त अपाङ्गता भएका नागरिकहरूको सेवा र स्याहार गर्नु सामान्य जिम्मेवारी नभई मानवीयताको सबैभन्दा उच्च र पवित्र उदाहरण भएको बताए । उनले अहोरात्र परिवार र आफन्तको सेवामा समर्पित स्याहारकर्ताहरूको योगदानलाई पैसासँग तुलना गर्न नसकिने उल्लेख गर्दै नगरपालिकाले उनीहरूको अमूल्य त्याग, धैर्य र समर्पणप्रति उच्च सम्मान व्यक्त गरेको बताए ।
नगर प्रमुख पोखरेलले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका स्याहारकर्ताहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र जीविकोपार्जनसँग सम्बन्धित थप रचनात्मक तथा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । अपांगता भएका नागरिकहरूको जीवनस्तर सुधार र उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार निरन्तर सक्रिय रहने उनको भनाइ थियो ।
उपप्रमुख मन्जु देवकोटाले घरभित्रै सीमित वा ओछ्यानमै परेका पूर्ण अशक्त नागरिकहरूको स्याहारका क्रममा स्याहारकर्ताहरूले भोग्नुपरेका आर्थिक, मानसिक तथा सामाजिक चुनौतीप्रति नगरपालिका संवेदनशील रहेको बताइन् । उनले सम्मान तथा प्रोत्साहन कार्यक्रम स्याहारकर्ताहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले गरिएको सानो प्रयास मात्र भएको उल्लेख गर्दै कमलामाई नगरपालिकालाई अपांगतामैत्री, समावेशी र उत्तरदायी स्थानीय तहका रूपमा विकास गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन् । साथै नगरबासीका हरेक सुख–दुःखमा नगरपालिका साथमा रहने उनले स्पष्ट पारिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले नगरपालिकाको नीति तथा कार्यक्रमअनुसार लक्षित वर्गका भावना र आवश्यकतालाई सम्बोधन गर्दै पूर्ण अशक्त नागरिकहरूको स्याहारमा समर्पित वास्तविक सेवाभाव भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । उनले आगामी दिनमा सेवा प्रवाहलाई थप अपाङ्गतामैत्री बनाउँदै यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी ढङ्गले कार्यान्वयन गरिने जानकारी दिए ।
कमलामाई नगरपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रमलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, स्याहारकर्ताहरूको मनोबल अभिवृद्धि तथा समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
कार्यक्रम कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा तथा नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. १२ का अध्यक्ष भिमबहादुर गुर्मछान, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख एवं कर्मचारीहरू तथा अपाङ्गता भएका व्यक्तिहरूका स्याहारकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।