सिन्धुली,२८ जेठ — कमलामाई नगरपालिकाले वर्षायामलाई लक्षित गर्दै नदीजन्य पदार्थको उत्खनन् तथा संकलनमा तीन महिनाका लागि रोक लगाएको छ । नगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म नगरपालिका क्षेत्रभित्रका सबै नदी, खोला तथा खहरेबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् तथा संकलन गर्न निषेध गरिएको जनाएको हो ।
नगरपालिकाका अनुसार ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ (पहिलो संशोधन) को दफा ६ को उपदफा १६ मा रहेको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनी प्रावधान कार्यान्वयन गर्न उक्त निर्णय गरिएको हो ।
सूचनामा कमलामाई नगरपालिका क्षेत्रभित्र तोकिएका नदीजन्य पदार्थ उत्खनन् क्षेत्रहरूबाट समेत निर्धारित अवधिमा कुनै पनि प्रकारको उत्खनन् तथा संकलन गर्न नपाइने स्पष्ट पारिएको छ । वर्षायामका कारण नदी तथा खोलाको प्राकृतिक बहाव, वातावरणीय सन्तुलन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले निषेधित अवधि र क्षेत्रभित्र नदी, खोला तथा खहरेमा प्रवेश गरी ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन्, संकलन वा ढुवानी नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । साथै, उक्त निर्देशनको अवज्ञा गर्दै नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ओसारपसारमा संलग्न हुने व्यक्ति तथा सवारी साधनमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
नगरपालिकाद्वारा जारी सूचनामा निषेधित क्षेत्र र अवधिभित्र नदीजन्य पदार्थको अवैध उत्खनन् वा ढुवानीमा संलग्न पाइने सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तथा उत्खनन् गरिएका नदीजन्य पदार्थसमेत जफत गरिने उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत किरणनिधी तिवारीद्वारा हस्ताक्षरित सूचनामार्फत नगरपालिकाले नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सबै सरोकारवाला, व्यवसायी, सवारीधनी तथा स्थानीयवासीलाई आग्रह गरेको छ ।