शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

किशोरीका सवालमा सिन्धुलीमा सरोकारवालाको साझा प्रतिबद्धता

बिहिवार , जेठ २८, २०८३

सिन्धुली,२८ जेठ – किशोरी तथा युवाको यौन तथा प्रजनन स्वास्थ्य, लैंगिक समानता, यौनिक अधिकार र बालविवाह न्यूनीकरणका विषयमा केन्द्रित अन्तरक्रिया तथा समन्वय बैठक सिन्धुलीमाढीमा सम्पन्न भएको छ । गल्र्स स्ट्यान्डिङ स्ट्रङ (जिएसएस) परियोजनाअन्तर्गत नागरिक समाज सञ्जाल सिन्धुलीको आयोजनामा तथा ह्याण्ड्स नेपाल र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा आयोजित कार्यक्रममा समुदाय र विद्यालय तहमा देखिएका विविध चुनौतीबारे गहन छलफल गरिएको हो ।

कार्यक्रममा विशेषगरी किशोरी तथा बालबालिकाले भोगिरहेका सामाजिक, शैक्षिक तथा मनोसामाजिक समस्याहरूलाई प्राथमिकताका साथ उठाइएको थियो ।

छलफलका क्रममा किशोरी समूहका सहभागीहरूले उमेरसँगै समाजको दृष्टिकोण परिवर्तन हुने र त्यसका कारण विभेद तथा असहज परिस्थितिको सामना गर्नुपरेको अनुभव सुनाए । उनीहरूका अनुसार उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने सामाजिक मान्यता र पारिवारिक दबाबले शिक्षा निरन्तरतादेखि व्यक्तिगत निर्णय गर्ने अधिकारसम्म प्रभावित हुने गरेको छ । सहभागीहरूले किशोरीले लगाउने पोसाक, हिँडडुल तथा व्यवहारका आधारमा अनावश्यक टिप्पणी र आलोचना गर्ने प्रवृत्ति अझै कायम रहेको उल्लेख गर्दै यस्ता व्यवहारले आत्मसम्मानमा नकारात्मक असर पार्ने बताएका थिए ।

उनीहरूले छोरा र छोरीबीच गरिने विभेद तथा किशोरीहरूले गर्ने गतिविधिलाई उनीहरूको चरित्रसँग जोडेर मूल्याङ्कन गर्ने सामाजिक सोच अन्त्य हुनुपर्ने आवश्यकता औँल्याए । किशोरीहरूले आफ्ना विचार, भावना र समस्याहरू खुलेर व्यक्त गर्न नसक्ने अवस्था विद्यमान रहेको भन्दै आवश्यक जानकारी र सहयोग प्राप्त गर्नसमेत कठिनाइ हुने गरेको बताए । निर्णय क्षमता, नेतृत्व विकास र सहभागितालाई पर्याप्त महत्व नदिने प्रवृत्तिले उनीहरूको आत्मविश्वास तथा समग्र विकासमा असर गरिरहेको धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

विद्यालय समूहबाट प्रस्तुत गरिएका सवालहरूमा कक्षा ६ र ७ मा अध्ययनरत बालबालिकामा किशोरावस्थासँग सम्बन्धित शारीरिक तथा मानसिक परिवर्तन देखिन थाले पनि त्यसबारे पर्याप्त जानकारी र बुझाइको अभाव रहेको उल्लेख गरियो । शारीरिक विकास, महिनावारी व्यवस्थापन, व्यक्तिगत सरसफाइ, भावनात्मक परिवर्तन तथा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा बालबालिकामा जिज्ञासा र अन्योलता रहने गरेको सहभागीहरूले बताए ।

सहभागीहरूले यस उमेर समूहका बालबालिकालाई उमेरअनुकूल, वैज्ञानिक तथा व्यवहारिक जानकारी उपलब्ध गराउन विद्यालयमा खुला र सहज वातावरण आवश्यक रहेकोमा जोड दिए । यौनिकता शिक्षासम्बन्धी छलफल र सिकाइलाई संस्थागत गर्दै समग्र यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयनमार्फत बालबालिकामा सही जानकारी, सकारात्मक व्यवहार तथा सुरक्षित निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याइयो ।

त्यसैगरी शिक्षक, अभिभावक र बालबालिकाबीच यौनिकता शिक्षासम्बन्धी खुला संवाद र सहयोगात्मक वातावरण निर्माण गर्नुपर्ने सुझाव दिइएको थियो । विद्यालयमा उपलब्ध सेनिटरी प्याड सेवा किशोरीहरूले सहज रूपमा प्रयोग गर्न सक्ने मैत्रीपूर्ण वातावरण सुनिश्चित गर्नुपर्ने विषय पनि छलफलको केन्द्रमा रह्यो ।

बैठकमा सहभागीहरूले समुदायस्तरमा सकारात्मक यौनिकतासम्बन्धी सही र वैज्ञानिक जानकारी प्रवाह गर्न, किशोरीहरूको नेतृत्व क्षमता विकास गर्न तथा लैङ्गिक हिंसा, विभेद र बालविवाह अन्त्यका लागि सबै सरोकारवाला निकायबीच समन्वित र संयुक्त पहल आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमले किशोरी तथा युवामैत्री वातावरण निर्माण, समुदायस्तरमा जनचेतना अभिवृद्धि, समग्र यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयन तथा सम्बन्धित निकायबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ ।

बैठकमा नागरिक समाजका प्रतिनिधि, सरोकारवाला निकाय, सामाजिक अभियन्ता, विद्यालयका प्रतिनिधि, किशोरी समूहका सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया