मकवानपुर,२८ जेठ — मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमार क्षेत्रमा बुधबार राति भएको सवारी दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार राति करिब १०ः५० बजे माण्डु हाइड्रोपावरतर्फबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय फिट तल खोलामा खसेको थियो । दुर्घटनापछि प्रहरी चौकी सिस्नेरीबाट र नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
उद्धार टोलीले गम्भीर घाइते अवस्थामा रहेका चालक र एक यात्रुलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाउने तयारी गरेको थियो । तर पछि उनीहरूलाई हेटौंडा अस्पताल ल्याइएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी, नेपाली सेनाका पूर्व हवल्दार तथा पिकअप चालक करिब ४०–४२ वर्षीय बोधराज बुढाथोकी रहेका छन् । त्यस्तै दुर्घटनामा बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । यादव द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको खुलेको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई बिहीबार बिहान करिब ५ बजे हेटौंडा अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकीय परीक्षणका क्रममा उनीहरूलाई मृत घोषणा गरिएको हो । मृतकहरूको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त पिकअप भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।