सिन्धुली,२७ जेठ — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै चार जिपिए प्राप्त गरेका भगवती अंग्रेजी माध्यमिक विद्यालयका छ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
विद्यालयले आयोजना बुधवार गरेको विशेष समारोहमा चार जिपिए प्राप्त गरी एसईई उत्तीर्ण भएका छ विद्यार्थीलाई जनही ५० हजार १०५ रुपैयाँ नगद, प्रशंसापत्र, खादा तथा अबिरसहित सम्मान गरिएको हो । सम्मानित हुनेमा अन्विश दाहाल, कृष्टिना खड्का, अप्सा गौतम, संयोजन कोइराला, पिंकी गुप्ता र श्रीषा अधिकारी रहेका छन् । उनीहरूलाई नगद रकमको चेकसहित सम्मान प्रदान गरिएको थियो ।
कमलामाई नगरपालिका–६ का वडाध्यक्ष उज्ज्वलकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उपलब्धिको उच्च प्रशंसा गरिएको थियो । सम्मान प्रदान गर्दै वडाध्यक्ष थापाले जिल्लाको शैक्षिक उन्नयनमा भगवती माध्यमिक विद्यालयले महत््वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे । विद्यालयको शैक्षिक गुणस्तरलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले कक्षा १० मात्र नभई कक्षा ११ र १२ तहको नतिजासमेत उत्कृष्ट रहेको धारणा व्यक्त गरे ।
“विद्यालयको शैक्षिक उपलब्धि र व्यवस्थापन प्रभावकारी देखिएको छ,” उनले भने, “व्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि भगवती राम्रो विकल्प बन्न सक्छ ।” विद्यार्थीहरूको सफलताले विद्यालय, अभिभावक र समग्र समुदायको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तै उपलब्धि हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रमुख कार्यकारी अधिकृत तथा सम्मान समारोहका अध्यक्ष कृष्णकुमार उप्रेतीका अनुसार विद्यालयले चार जिपिए ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । “यस वर्ष २४औँ ब्याचका छ जना विद्यार्थीलाई सम्मान गरिएको हो,” उनले भने । विद्यालयले विगतदेखि नै चार जिपिए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार रुपैयाँभन्दा बढी नगद पुरस्कारसहित खादा, अबिर र प्रमाणपत्र प्रदान गर्दै आएको उनले जानकारी दिए ।
यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी भएका ७६ जना विद्यार्थीमध्ये सबै ७६ जना विद्यार्थी उत्तीर्ण भएका थिए । तीमध्ये छ जनाले चार जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइमा पु¥याएका हुन् । विद्यालय परिवारले विद्यार्थीहरूको उपलब्धिले संस्थाको शैक्षिक गुणस्तर र विश्वासलाई अझ मजबुत बनाएको जनाएको छ ।
कार्यक्रममा अभिभावकका तर्फबाट बोल्दै नवराज कोइरालाले आफ्ना दुवै सन्तानले भगवतीमा अध्ययन गरेर चार जिपिए प्राप्त गरेको र उच्च शिक्षामा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको उदाहरण प्रस्तुत गरे । गुणस्तरीय शिक्षाका दृष्टिले विद्यालयको स्थान उच्च रहेको उनको भनाइ थियो ।
सम्मानित विद्यार्थीका तर्फबाट मन्तव्य व्यक्त गर्दै अन्विश दाहालले आफ्नो सफलता व्यक्तिगत मेहनत, शिक्षकहरूको मार्गदर्शन तथा अभिभावकको विश्वासको परिणाम भएको बताए र प्राप्त सम्मानले आगामी अध्ययन र जीवनका लक्ष्यहरू हासिल गर्न थप ऊर्जा र प्रेरणा प्रदान गरेको उनको भनाइ थियो ।
शैक्षिक संयोजक टंकध्वज थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वित्त निर्देशक रमाकान्त सुवेदी, प्रिन्सिपल तमिज सेल्भम, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
उत्साहपूर्ण वातावरणमा सम्पन्न सम्मान समारोहमा सहभागीहरूले विद्यालयको निरन्तर उत्कृष्ट नतिजाले सिन्धुलीको शैक्षिक क्षेत्रलाई नयाँ उचाइतर्फ अघि बढाइरहेको धारणा व्यक्त गरेका थिए र विद्यालय परिवारले सम्मानित विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी वर्षहरूमा पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।