सिन्धुली, २७ जेठ — दुर्गम बस्तीका विद्यार्थीहरूको विद्यालय आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले कमलामाई नगरपालिकाले कमला माध्यमिक विद्यालय, करकरेलाई स्कुल भ्यान उपलब्ध गराएको छ । नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको नयाँ भ्यान बुधबार आयोजित एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । भ्यानको साँचो विद्यालय व्यवस्थापन समितिलाई प्रदान गर्दै औपचारिक रूपमा सेवाको शुभारम्भसमेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले शिक्षा क्षेत्रमा समान पहुँच स्थापित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए । गुणस्तरीय शिक्षाको अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिका विभिन्न कार्यक्रममार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनले उल्लेख गरे ।
नगर प्रमुख पोखरेलले विशेषगरी दुर्गम बस्तीका विद्यार्थीहरूले विद्यालय पुग्न र घर फर्किन भोग्नुपरेको कठिनाइलाई दृष्टिगत गर्दै स्कुल भ्यान उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार यातायात सुविधाको अभाव तथा लामो दूरीका कारण विद्यार्थीहरूको नियमित उपस्थितिमा असर पर्ने अवस्थालाई न्यूनीकरण गर्न नगरपालिकाले यो सहयोग गरेको हो ।
विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको उक्त भ्यान मुख्य रूपमा विद्यालयबाट टाढा रहेका तथा यातायात सेवा न्यून भएका क्षेत्रका विद्यार्थीहरूको सेवाका लागि प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यार्थीलाई सुरक्षित रूपमा विद्यालयसम्म ल्याउने र घरसम्म पु¥याउने व्यवस्थाले उनीहरूको शैक्षिक निरन्तरतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
भ्यान हस्तान्तरणपछि विद्यालय प्रशासनले नगरपालिकाप्रति आभार व्यक्त गरेको छ । विद्यालयका प्रधानाध्यपक गुण बिक्रम कुवरले यस सहयोगले विद्यार्थीहरूको नियमित उपस्थितिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार विद्यालय आउन–जानको समस्या कम भएसँगै सिकाइ प्रक्रियामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
स्थानीय अभिभावकहरूले पनि नगरपालिकाको यस कदमलाई स्वागतयोग्य भन्दै प्रशंसा गरेका छन् । उनीहरूले दुर्गम तथा यातायात पहुँच कम भएका बस्तीका बालबालिकाका लागि यो सेवा प्रभावकारी सावित हुने विश्वास व्यक्त गरेका छन् । विद्यालयसम्म पुग्नुपर्ने दूरी र यात्राका चुनौती कम भएपछि विद्यार्थीहरूको शिक्षा पहुँच थप सहज र व्यवस्थित बन्ने उनीहरूको अपेक्षा छ ।
कमलामाई नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि र सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैअन्तर्गत विद्यालयलाई स्कुल भ्यान उपलब्ध गराउने निर्णयलाई दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार तथा सुरक्षित आवतजावत सुनिश्चित गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ
विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।