सिन्धुली ,२७ जेठ – सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका निर्वाचित उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ले गृहमन्त्रीमा सुधन गुरुङको पुनः नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले फेसबुकमा “सु–दन कि, सु–धन कि, सु–डन ??? बुझ्नै गाह्रो प¥यो त !!!” लेखिएको पोस्ट सार्वजनिक गरेका हुन् ।
उक्त पोस्टलाई धेरैले नवनियुक्त गृहमन्त्री सुधन गुरुङप्रति लक्षित टिप्पणीका रूपमा बुझेका छन् । पुकारको टिप्पणी त्यतिबेला आएको हो, जब गृहमन्त्री गुरुङ राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा छन् । सामाजिक सञ्जालमा गरिएको उनको संकेतपूर्ण अभिव्यक्तिले स्थानीय तथा राजनीतिक वृत्तमा चासो पैदा गरेको छ । यद्यपि उनले पोस्टमा कसैको नाम स्पष्ट रूपमा उल्लेख गरेका छैनन् ।
यसअघि एक अनलाइन पत्रिकाले उपाध्यक्ष पुकारले हतियारसहित देखिएको तस्बिर सार्वजनिक गरेको थियो । उक्त विषयमा सिन्धुली जिल्ला प्रहरीले अध्ययन तथा तथ्य संकलन गरिरहेको बताइएको थियो । सो घटनाले पनि जिल्लाको राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा पाएको थियो ।
पूर्व माओवादी केन्द्रबाट निर्वाचित पुकार पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र उनको परिवारसँग निकट सम्बन्ध राख्ने नेताका रूपमा चिनिन्छन् । प्रचण्डको जन्मदिनको अवसरमा आयोजित पारिवारिक प्रकृतिको सीमित जमघटमा समेत उनी आमन्त्रित भएका थिए । जसलाई उनको पारिवारिक तथा राजनीतिक निकटताको संकेतका रूपमा हेरिएको थियो ।