शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

बुधवार , जेठ २७, २०८३

सिन्धुली,२७ जेठ — बालकको ज्यान गएको ट्याक्टर दुर्घटना प्रकरणमा फरार रहेका प्रतिवादीलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०८० जेठ १६ गते साँझ करिब ७ः३० बजे कमलामाई नगरपालिका–२ बोहोरेस्थित बोहोरेटारबाट गढीतर्फ जाँदै गरेको ज.१.त. ९९४१ नम्बरको मकै लोड गरिएको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनाका क्रममा ट्याक्टरको इन्जिन र ट्रली (टेलर) जोडिएको भाग भाँचिएपछि सवारी साधन अनियन्त्रित बनेको थियो । उक्त दुर्घटनामा ट्याक्टरमा सवार एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका प्रतिवादी कमलामाई नगरपालिका–२ निवासी २१ वर्षीय मानबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०८३ जेठ २४ गते बिहान करिब १०ः१५ बजे प्रहरी चौकी अमलेबाट खटिएको प्रहरी टोलीले उनलाई बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका विकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्वारा जारी सूचनामा सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले फरार प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

बालकको मृत्यु भएको उक्त दुर्घटनासम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउ परेसँगै घटनाको कानुनी प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको प्रहरी प्रहरीले जनाएको छ ।

1.jpg
undefined

प्रतिक्रिया