शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको दुम्जामा आकार लिँदै ‘बिपी पार्क

जोगिँदै कोइराला परिवारको ऐतिहासिक लोकतान्त्रिक विरासत

मंगलवार , जेठ २६, २०८३


सिन्धुली,२६ जेठ — नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालासहित चार जना पूर्वप्रधानमन्त्रीको पुख्र्यौली तथा जन्मथलो रहेको सिन्धुलीको दुम्जामा ‘बिपी पार्क’ निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । लोकतान्त्रिक आन्दोलनको इतिहासलाई संरक्षण गर्दै कोइराला परिवारले राष्ट्रको राजनीतिक विकासमा पु¥याएको योगदानलाई भावी पुस्तासम्म पु¥याउने उद्देश्यसहित पार्क निर्माण भइरहेको हो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा करिब ५० करोड रुपैयाँको लागतमा निर्माणाधीन उक्त पार्कमा हालसम्म २० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । पार्क निर्माणलाई स्थानीय, प्रदेश तथा संघीय तहबाट ऐतिहासिक महत्वको परियोजनाका रूपमा हेरिएको छ ।

स्वर्गीय कृष्णप्रसाद कोइरालाका तिन पुत्र तथा नेपालका पूर्वप्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको जन्मथलो दुम्जालाई लोकतान्त्रिक आन्दोलनको जीवित स्मृतिस्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । राजनीतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला परिवारका सदस्यहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्न पार्क निर्माण थालिएको स्थानीयवासी बताउँछन् ।

स्थानीयका अनुसार २०७६ सालदेखि पार्क निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा पूर्वाधार विकासका काम सुरु गरिएको हो । पार्क निर्माणको दायरालाई विस्तार गर्न स्थानीयवासीको ७८ रोपनी जग्गा खरिद गरिएको छ । सो क्षेत्रभित्र पहुँचमार्ग निर्माण, पार्कको आन्तरिक संरचना विकास तथा विभिन्न पूर्वाधार निर्माणका कामहरू एकसाथ अगाडि बढिरहेका छन् ।

निर्माणाधीन योजनाअन्तर्गत  शालिक निर्माण गर्ने, बिपी संग्रहालय स्थापना गर्ने, पार्क व्यवस्थापनका लागि आवश्यक संरचना तयार गर्ने तथा स्वर्गीय कृष्णप्रसाद कोइरालाको पुख्र्यौली घरलाई पुरानै स्वरूप र शैलीमा पुनःनिर्माण गर्ने कार्यसमेत जारी रहेको छ । यी संरचनामार्फत कोइराला परिवारको राजनीतिक, सामाजिक र ऐतिहासिक योगदानलाई व्यवस्थित रूपमा अभिलेखीकरण र प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।

पार्क निर्माण कार्यलाई स्थानीय समुदायले सकारात्मक रूपमा लिएका छन् । दुम्जालाई राष्ट्रिय राजनीतिक इतिहाससँग जोडिएको महत्वपूर्ण स्थलका रूपमा चिनाउने अवसर प्राप्त भएको भन्दै स्थानीयवासीले यस परियोजनालाई ऐतिहासिक महत्वको योजनाका रूपमा स्वागत गरेका छन् । उनीहरूका अनुसार पार्क सम्पन्न भएपछि यस क्षेत्रको ऐतिहासिक पहिचान थप सुदृढ हुनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले पार्कलाई सामान्य मनोरञ्जनस्थलका रूपमा मात्र विकास नगरिने स्पष्ट पारे। उनका अनुसार पार्कले लोकतन्त्र, राष्ट्रिय एकता र राजनीतिक चेतनासम्बन्धी सन्देश प्रवाह गर्ने स्मारकीय केन्द्रको भूमिका निर्वाह गर्नेछ ।

“पार्क केवल मनोरञ्जन गर्ने स्थान नभई लोकतन्त्र, राष्ट्रिय एकता, राजनीतिक चेतनासम्बन्धी सन्देश प्रवाह गर्ने स्मारिकाको रूपमा विकास गरिनेछ,” उपाध्यक्ष कोइरालाले भने, “नेपालमा प्रजातन्त्र स्थापना गर्ने कोइरालाको स्मरण सहित राजनीतिक योगदानलाई झल्काउने गरी पार्क निर्माण भइरहेको छ ।”

उनका अनुसार पार्क निर्माणको मूल उद्देश्य नेपालमा प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई जीवन्त बनाउनु र त्यस आन्दोलनमा कोइराला परिवारले खेलेको भूमिकालाई संस्थागत रूपमा संरक्षण गर्नु हो । यसले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता तथा राजनीतिक चेतनाको विकासमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।

नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान ओगटेको कोइराला परिवारको जन्मथलो दुम्जामा निर्माणाधीन बिपी पार्क सम्पन्न भएपछि यो स्थल केवल स्मारकका रूपमा सीमित नरही लोकतान्त्रिक आन्दोलनको इतिहास अध्ययन, अनुसन्धान र प्रेरणाको केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । निर्माण कार्यले गति लिइरहेका बेला दुम्जा अहिले राष्ट्रिय राजनीतिक इतिहाससँग जोडिएको महत्वपूर्ण गन्तव्यका रूपमा क्रमशः परिचित बन्दै गएको छ ।

प्रतिक्रिया