शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बढी भाडा असुल्ने इलेक्ट्रिक गाडीमाथि कारवाही

मंगलवार , जेठ २६, २०८३


सिन्धुली, २५ जेठ — धनुषाबाट काठमाडौँतर्फ जाँदै गरेको एक यात्रुवाहक इलेक्ट्रिक गाडीले तोकिएको भन्दा बढी भाडा असुली गरेको तथा चालक र सहचालकले यात्रुलाई अनावश्यक हैरानी दिएको उजुरीपछि प्रहरीले उक्त सवारीसाधनमाथि कारवाही गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बा.प्र.०१–००१ ख ८१५६ नम्बरको यात्रुवाहक इलेक्ट्रिक गाडीविरुद्ध यात्रुहरूबाट बढी भाडा असुलिएको र यात्रुसँग दुव्र्यवहारजन्य व्यवहार गरिएको भन्दै प्रहरीको मोबाइल एपमार्फत उजुरी प्राप्त भएको थिया े। उक्त उजुरी  आइतवार दर्ता भएको जनाइएको छ ।

उजुरी प्राप्त भएपछि सोमवार प्रहरी चौकी कुशेश्वर दुम्जा, सिन्धुलीबाट खटिएको चेकिङ टोलीले सम्बन्धित सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । जाँच तथा अनुसन्धानका क्रममा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा असुलिएको पुष्टि भएपछि सवारीसाधनमाथि आवश्यक ट्राफिक कारवाही तथा जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कारवाहीसँगै यात्रुबाट अतिरिक्त रूपमा असुल गरिएको रकम सम्बन्धित यात्रुलाई फिर्ता गराउनसमेत लगाएको छ । यात्रुको गुनासोका आधारमा गरिएको उक्त कारवाहीले सार्वजनिक यातायात क्षेत्रमा तोकिएको भाडादर कार्यान्वयन तथा यात्रुमैत्री सेवा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक यातायातमा हुने अनियमितता, बढी भाडा असुली तथा यात्रुमाथि हुने दुव्र्यवहारविरुद्ध प्राप्त हुने उजुरीलाई गम्भीरतापूर्वक लिएर आवश्यक कानुनी कारवाही गरिने जनाएको छ । सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जारी गरेको सूचनामा बढी भाडा असुली गर्ने सवारीसाधनमाथि कारवाही गरी यात्रुबाट अतिरिक्त रूपमा उठाइएको रकम फिर्ता गराइएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया