शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने चार चालक पक्राउ

सोमवार , जेठ २५, २०८३

सिन्धुली,२५ जेठ  — सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित बीपी राजमार्ग क्षेत्रमा सार्वजनिक सवारीसाधनका चालक तथा सह–चालकमाथि गरिएको लागूपदार्थ सेवन परीक्षणका क्रममा चार जना चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ  ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली, प्रहरी चौकी ढुंग्रेवास तथा जनस्वास्थ्य कार्यालय सिन्धुलीको संयुक्त टोलीले शनिबार बिहान करिब ९ः३० बजेदेखि १०ः४० बजेसम्म बीपी राजमार्गमा सञ्चालनमा रहेका १२ वटा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको लागूपदार्थ सेवन परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा चार जना चालकको नतिजा सकारात्मक (पोजेटिभ) देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–४ निवासी २५ वर्षीय लक्ष्मण विष्ट, काभ्रेपलाञ्चोकको नवबुद्ध नगरपालिका–१० निवासी २९ वर्षीय सन्तोष न्यौपाने, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ निवासी ३० वर्षीय गोविन्द घिमिरे तथा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ निवासी २६ वर्षीय शम्शेरबहादुर बजु रहेका छन् ।

प्रहरीका अनुसार सार्वजनिक सवारी सञ्चालन गरिरहेका बेला लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध लागूपदार्थ सेवन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका चारै जनालाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउने तथा सार्वजनिक सवारी सञ्चालनलाई सुरक्षित र जिम्मेवार बनाउन यस्ता निगरानी तथा परीक्षण अभियानलाई निरन्तरता दिइनेछ ।

सार्वजनिक यातायातका चालकले लागूपदार्थ सेवन गरी सवारी चलाउँदा यात्रुको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भएकाले सम्बन्धित निकायहरूले नियमित रूपमा निगरानी तथा परीक्षण अभियान सञ्चालन गर्दै आएका छन् ।

lagu.jpg
undefined

प्रतिक्रिया