सिन्धुली,२४ जेठ — कमलामाई नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा आर्थिक अनुशासन, पारदर्शिता तथा सार्वजनिक सम्पत्तिको व्यवस्थित अभिलेखीकरण प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरेको दुईदिने ‘लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तालिम’ सम्पन्न गरेको छ ।
आन्तरिक लेखापरीक्षण शाखाको आयोजनामा माध्यमिक तथा आधारभूत तह (कक्षा १–८) का विद्यालयहरूका प्रधानाध्यापक तथा लेखापालहरूलाई लक्षित गरी सञ्चालित तालिम आइतवारर सम्पन्न भएको हो ।
समापन समारोहमा तालिममा सहभागी सम्पूर्ण प्रधानाध्यापक तथा लेखापालहरूलाई नगर प्रमुख उपेन्द्रकुमार पोखरेलद्वारा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले विद्यालयहरूमा आर्थिक अनुशासन कायम राख्न तथा सार्वजनिक सम्पत्तिको सही अभिलेखीकरण सुनिश्चित गर्न उक्त तालिम महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सहभागीहरूलाई आग्रह गर्दै विद्यालयको आर्थिक तथा जिन्सी व्यवस्थापनलाई अझ जिम्मेवार, चुस्त र पारदर्शी बनाउन सबै प्रधानाध्यापक तथा लेखापालहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
नगर प्रमुख पोखरेलले कमलामाई नगरपालिका नगरभित्रका शैक्षिक संस्थाहरूमा प्रशासनिक तथा आर्थिक सुशासन प्रवद्र्धन गर्न नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै तालिममा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सहभागीप्रति धन्यवाद तथा शुभकामना व्यक्त गरे ।
कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकाल, आन्तरिक लेखापरीक्षण शाखा प्रमुख सुशील कुमार वर्मा तथा जिन्सी शाखा प्रमुख तीर्थ भण्डारीले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए । तालिममा विद्यालयस्तरमा लेखा प्रणालीको प्रभावकारी सञ्चालन, जिन्सी व्यवस्थापन, सार्वजनिक सम्पत्तिको अभिलेखीकरण तथा वित्तीय उत्तरदायित्वका विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रम सञ्चालन स्रोत विज्ञ कुमार ढकालले गरेका थिए। नगरपालिकाका अनुसार विद्यालय प्रशासनलाई थप व्यवस्थित, उत्तरदायी र पारदर्शी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले विद्यालयस्तरको वित्तीय तथा जिन्सी व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।