सिन्धुली,२३ जेठ – सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीमा शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि तथा शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले दुईदिने शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी तालिम शनिबारदेखि सुरु भएको छ ।
नेपाल शिक्षक महासंघ कमलामाई नगर समितिको आयोजनामा तथा कमलामाई नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा जलकन्या माध्यमिक विद्यालय, चपौलीमा सञ्चालन गरिएको उक्त तालिममा वडाभित्रका तीन विद्यालयका २० जना शिक्षक सहभागी भएका छन् ।
तालिमको पहिलो दिन गणित र अंग्रेजी विषय केन्द्रित सहजीकरण गरिएको थियो। सहभागी शिक्षकहरूलाई पूर्ण रूपमा क्रियाकलापमा आधारित शैक्षिक सामग्री निर्माण, त्यसको प्रभावकारी प्रयोग तथा कक्षाकोठामा व्यवहारिक रूपमा उपयोग गर्ने सीप प्रदान गरिएको आयोजकले जनाएको छ । शिक्षण प्रक्रियामा सिर्जनशीलता र सहभागितामूलक अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले शिक्षकहरूलाई नयाँ सिकाइ, सीप र अनुभवसँग जोड्ने अपेक्षा गरिएको छ ।
नेपाल शिक्षक महासंघ कमलामाई नगर समितिका अध्यक्ष रामेश्वर दाहालले शिक्षकहरूको क्षमता विकासमार्फत समग्र शैक्षिक गुणस्तर सुधारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनका अनुसार यस्ता कार्यक्रमले शिक्षकलाई समयानुकूल शिक्षण पद्धति अवलम्बन गर्न प्रेरित गर्नुका साथै विद्यालय तहको सिकाइ उपलब्धि वृद्धि गर्न समेत सहयोग पुग्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष सोभासिंह स्याङ्बाले शिक्षकहरूको निरन्तर सिकाइ र पेसागत विकासका लागि यस्ता तालिम अपरिहार्य रहेको बताए । उनले यस प्रकारका कार्यक्रमबाट सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै प्रत्येक वडा, स्थानीय तह तथा जिल्लास्तरबाट समेत यस्ता तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भएकोमा जोड दिए ।
तालिम उदघाटन कार्यक्रम नेपाल शिक्षक महासंघ कमलामाई नगर समितिका अध्यक्ष रामेश्वर दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष सोभासिंह स्याङ्बाको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष रामप्रसाद सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव मनोजप्रसाद काफ्लेले गरेका थिए ।
आयोजकका अनुसार शिक्षकहरूको व्यवहारिक दक्षता अभिवृद्धि तथा शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगमार्फत विद्यालय शिक्षाको गुणस्तर उकास्ने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिम आइतबारसम्म जारी रहनेछ ।