सिन्धुली,२३ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको जिल्ला अधिवेशन आज सम्पन्न हुँदै गर्दा वर्तमान जिल्ला सभापति अभिनाश बस्नेतले पुनः नेतृत्वको जिम्मेवारी सम्हाल्न सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । अधिवेशनलाई संगठन सुदृढीकरण, नेतृत्व तथा भावी राजनीतिक दिशानिर्देशनको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै बस्नेतले सम्पूर्ण प्रतिनिधि, नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका साथ कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै बस्नेतले अधिवेशनबाट संगठनलाई नयाँ उचाइमा पु¥याउन सक्ने सक्षम, नैतिकवान, दूरदर्शी तथा जनउत्तरदायी नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, विधिको शासन, सुशासन तथा संस्थागत संस्कारलाई अझ मजबुत बनाउने आवश्यकता औँल्याउँदै संगठनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
पार्टीको दीर्घकालीन लक्ष्य तथा आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर आफूले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बस्नेतले बताएका छन् । संगठनलाई थप व्यवस्थित, अनुशासित र परिणाममुखी बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्नु आफ्नो प्राथमिकता रहने उनको भनाइ छ । उनले संगठनात्मक एकता, पारदर्शिता, जवाफदेहिता र विधिसम्मत अभ्यासलाई संस्थागत गर्दै रास्वपालाई जिल्लामा थप मजबुत बनाउने लक्ष्य लिएको उल्लेख गरेका छन् ।
सिन्धुलीमा पार्टी संगठन विस्तार र जनसम्पर्क सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका बस्नेतले आफ्नो कार्यकालमा संगठनलाई गतिशील बनाउने प्रयास गरेका थिए । विशेषगरी गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराउन उनले महत्वपूर्ण भूमिका खेलेको पार्टी वृत्तमा चर्चा हुने गरेको छ ।
अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनप्रति कार्यकर्ताको चासो बढिरहेका बेला बस्नेतको उम्मेदवारीले संगठनभित्र नयाँ उत्साह थपेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । स्रोतका अनुसार उनलाई वर्तमान जिल्ला सचिवको समेत समर्थन रहेको चर्चा भए पनि यसबारे औपचारिक धारणा सार्वजनिक भएको छैन ।
रास्वपा सिन्धुलीको यस अधिवेशनलाई आगामी कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण राजनीतिक अवसरका रूपमा हेरिएको छ । अधिवेशनबाट चयन हुने नेतृत्वले संगठन विस्तार, जनआधार मजबुतीकरण तथा आगामी स्थानीय तह निर्वाचनको तयारीमा निर्णायक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । जिल्लाभरबाट उल्लेख्य संख्यामा प्रतिनिधि, नेता तथा कार्यकर्ताको सहभागिता रहने अनुमान गरिएको अधिवेशनमा नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप जनमुखी, प्रभावकारी र गतिशील बनाउने विषय मुख्य एजेन्डाका रूपमा रहने देखिएको छ ।