सिन्धुली,२३ जेठ — सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित ढुंगे्रवासको दुई नम्बर गेट नजिक बिपी राजमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साँझ करिब ६ बजे सिन्धुलीबाट गढीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार र विपरीत दिशाबाट काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको कार एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा भारतको बिहार राज्य, मधुवनी निवासी २९ वर्षीय अभिषेक कुमारले चलाएको बीआर–०१ एचडी–१८०० नम्बरको कार र कमलामाई नगरपालिका–३ निवासी ३१ वर्षीय राजकुमार नेपालीले चलाएको बीएबी–४००० नम्बरको कार संलग्न रहेका थिए ।
प्रहरीका अनुसार बीएबी–४००० नम्बरको कारमा सवार कमलामाई नगरपालिका–६ निवासी ४१ वर्षीय बुद्धिमान श्रेष्ठको दाहिने खुट्टामा चोट लागेको छ । सोही कारमा रहेका ८१ वर्षीय मानबहादुर श्रेष्ठको टाउको तथा दाहिने खुट्टामा चोट लागेर मध्यम अवस्थाको घाइते भएका छन् । त्यस्तै ७३ वर्षीय दालबहादुर श्रेष्ठको दाहिने काँधमा चोट लागेको थियो । उनको अवस्था सामान्य रहेको र साँझ ७ बजेर ५० मिनेटमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
यस्तै भारतीय कारमा सवार भारतको मधुवनी जिल्ला–१४ निवासी ३५ वर्षीया खुशी कुमारी सामान्य घाइते भएकी थिइन् । उनलाई स्थानीय बबी मेडिकलमा उपचार गराइएको थियो । उपचारपछि साँझ ७ बजे उनी डिस्चार्ज भएकी थिइन् ।
घटनालगत्तै प्रहरी चौकी ढुंग्रेबासबाट प्रहरी र ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका बुद्धिमान श्रेष्ठ र मानबहादुर श्रेष्ठलाई थप उपचारका लागि शनिबार बिहान करिब १ बजे काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल पठाइएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने दुवै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।