शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बिपी राजमार्गमा रातको समय सवारी बन्द यथाबत

शुक्रवार , जेठ २२, २०८३

काभ्रेपलाञ्चोक,२२ जेठ — बेमौसमी वर्षासँगै बढ्दै गएको पहिरो र बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा रातिको समयमा लागू गरिएको अनिश्चितकालीन आवागमन बन्दलाई निरन्तरता दिइएको छ । यद्यपि यात्रु तथा व्यवसायीको मागलाई ध्यानमा राख्दै बन्दको समय भने दुई घण्टा घटाइएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको शुक्रबार बसेको बैठकले हालसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लागू हुँदै आएको रात्रीकालीन बन्दलाई परिमार्जन गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । समितिले अर्को सूचना जारी नभएसम्म उक्त व्यवस्था लागू रहने जनाएको छ । समितिका संयोजक तथा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार दिन लामो हुने मौसम सुरु भइसकेकाले यात्रु र व्यवसायिक क्षेत्रबाट आएको सुझावलाई ध्यानमा राख्दै बन्दको समय केही छोट्याइएको हो । तर वर्षायाम नजिकिँदै जाँदा राजमार्गमा बढ्दो प्राकृतिक जोखिमका कारण रात्रीकालीन आवागमन पूर्ण रूपमा खुला गर्ने अवस्था नरहेको उनले बताए ।

नयाँ व्यवस्थाअनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका अन्तर्गत कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा राति सवारी सञ्चालन गर्न पाइने छैन । उक्त क्षेत्रमा वर्षा हुँदा रोशी खोलामा पानीको बहाव तीव्र हुने, खोलाको सतह बढ्ने तथा अस्थायी डाइभर्सन बगाउने जोखिम उच्च रहेकाले यस्तो निर्णय गरिएको समितिको भनाइ छ ।

गत वैशाख २२ गतेदेखि सो राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मको आवागमन बन्द गरिएको थियो । त्यसअघि वैशाख २१ गते राति परेको वर्षापछि रोशी गाउँपालिका–७ अन्तर्गत लास्कोट र घुमाउनेबीच सडक अवरुद्ध हुँदा पाँच वटा माइक्रोबसमा सवार ८९ यात्रु अलपत्र परेका थिए । उनीहरूको रातारात उद्धार गर्नुपरेपछि सुरक्षा निकायले राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

उक्त घटनापछि सुरक्षाकर्मीले जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न बारम्बार आग्रह गर्दागर्दै पनि लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा सम्बन्धित माइक्रोबस चालकहरूलाई नियन्त्रणमा लिएर कारबाहीसमेत गरिएको थियो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले बिपी राजमार्ग प्रयोग गर्नुअघि सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गत वर्षको भीषण बाढीपहिरोले चौकीडाँडा, रोशी क्षेत्र तथा सिन्धुलीको नेपालथोक आसपासका करिब १८ किलोमिटर सडकखण्डमा व्यापक क्षति पु¥याएको थियो । हाल ती क्षेत्रमा खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिँदै आएको छ । वर्षा बढ्दै जाँदा ती संरचनामा थप जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया