शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

विश्व वातावरण दिवसमा सिन्धुलीभर हरियाली अभियान

शुक्रवार , जेठ २२, २०८३

सिन्धुली, २२ जेठ – विश्व वातावरण दिवस २०२६ को अवसरमा सिन्धुलीमा वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै दिवस मनाइएको छ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ जिल्लाभर सञ्चालन गरिएका कार्यक्रममार्फत वातावरण संरक्षण, जैविक विविधताको संवद्र्धन तथा हरित विकासप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको हो ।

डिभिजन वन कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका र कमला माध्यमिक विद्यालय ढुंग्रेबासको समन्वयमा सदरमुकामस्थित कमला माविको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा आँप, लिची, कल्की, रातकी रानीलगायत विभिन्न प्रजातिका कुल ८४ वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले वातावरण संरक्षण कुनै एक निकायको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताए । उनले घर–घरबाट वातावरणमैत्री व्यवहारको अभ्यास गर्दै हरियाली प्रवद्र्धनमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले वातावरणीय सन्तुलन कायम नरहे मानव सभ्यताको भविष्य नै संकटमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षण र वातावरण जोगाउने जिम्मेवारी सबैले साझा रूपमा वहन गर्नुपर्ने धारणा राखिन ।

कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख रामकुमार भण्डारीले विश्व वातावरण दिवसको महत्व तथा वर्तमान जलवायु संकटका चुनौतीबारे प्रकाश पारेका थिए । उनले वातावरणीय प्रदूषण नियन्त्रण, वन संरक्षण र वृक्षारोपणलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

2.jpg
undefined

कमला माविका प्रधानाध्यापक कमलेश चौधरी तथा विद्यालयका माध्यमिक तहका विद्यार्थीहरूले पनि वातावरण संरक्षणका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच, जनजागृति माध्यमिक विद्यालय, निवुवाटारले पनि वडा तहका सरोकारवालाको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसर तथा सार्वजनिक क्षेत्रमा बिरुवा रोपेर वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराउने प्रयास गरिएको विद्यालयले जनाएको छ ।

यता सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीले विद्यालयदेखि ढुंग्रेबास बजार क्षेत्रसम्म सडक सरसफाइ अभियान सञ्चालन गरेको छ । वातावरण दिवसको सन्दर्भ पारेर गरिएको सरसफाइ कार्यक्रमले स्वच्छ र सफा वातावरण निर्माणमा समुदायको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी चुरे उत्थानशील आयोजनाको सहयोगमा जिल्लाका विभिन्न विद्यालयहरूमा खाली तथा बाँझो जमिनको सदुपयोग गर्दै फलफूलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको छ । यसअन्तर्गत माध्यमिक विद्यालय गडौली, खैरेनीमा शिक्षक तथा विद्यार्थीहरूले सामूहिक रूपमा फलफूलका बिरुवा रोपेका छन् । विद्यालय परिसर तथा आसपासका खाली जग्गामा गरिएको वृक्षारोपणले वातावरण संरक्षणसँगै भविष्यमा पोषण र आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा जिल्लाभर सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तहदेखि समुदायस्तरसम्मको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएका छन् ।

प्रतिक्रिया