शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एक युगको अन्त्य : भत्कियो सिन्धुलीको ऐतिहासिक स्टल बजार

शुक्रवार , जेठ २२, २०८३

सिन्धुली ,२२ जेठ — सिन्धुलीको सदरमुकामस्थित माढीबजारको ऐतिहासिक स्टल बजार अब केवल सम्झनामा सीमित हुने भएको छ । लामो समयदेखि कमलामाई नगरपालिका र स्थानीय व्यापारी–व्यवसायीबीच चल्दै आएको विवाद तथा छलफलको अन्त्यसँगै शुक्रवारदेखि स्टल बजार भत्काउने कार्य सुरु गरिएको छ ।

कमलामाई नगरपालिका–६, माढीबजारस्थित व्यापारिक स्टलहरू २०७२ सालको विनाशकारी भूकम्पपछि नै जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेका थिए । भूकम्पका कारण कतिपय संरचना धराशायी भएका थिए भने बाँकी संरचनाहरू पनि प्रयोगका दृष्टिले असुरक्षित बन्दै गएका थिए । यद्यपि त्यहाँ व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरू र नगरपालिकाबीच व्यवस्थापन तथा पुनर्निर्माणका विषयमा लामो समयदेखि मतभेद रहँदै आएको थियो ।

नगरपालिकाले पछिल्ला महिनाहरूमा व्यापारीहरूसँग पटक–पटक संवाद गर्दै पुराना संरचना हटाउन आग्रह गरेको थियो । अन्ततः सम्बन्धित व्यवसायीहरूले नगरपालिकाको आग्रहलाई स्वीकार गर्दै समयमै आ–आफ्ना स्टल खाली गरेपछि भत्काउने कार्यका लागि मार्ग प्रशस्त भएको हो ।

नगरपालिकाका अनुसार स्टल बजार खाली गराउन तथा संरचना हटाउने प्रक्रियामा व्यापारी समुदायले देखाएको सहकार्य र सकारात्मक भूमिकाले कार्यान्वयन सहज बनेको छ । नगरपालिकाले जारी गरेको प्रतिक्रियामा व्यवसायीहरूले देखाएको समझदारी, धैर्यता र सहयोगप्रति आभार व्यक्त गरिएको छ ।

वर्षौंदेखि सिन्धुलीको व्यापारिक गतिविधिको केन्द्रका रूपमा परिचित स्टल बजार स्थानीय आर्थिक तथा सामाजिक जीवनसँग पनि गहिरो रूपमा जोडिएको स्थान मानिन्थ्यो । पुराना पुस्ताका लागि यो बजार केवल व्यापार गर्ने स्थल मात्र नभई स्थानीय इतिहास, स्मृति र सहरी विकासको एउटा महत्वपूर्ण अध्यायका रूपमा रहेको थियो । त्यसैले बजार भत्काइँदै गर्दा धेरै स्थानीयवासीमा पुराना सम्झनाहरू ताजा बनेका छन् ।

यद्यपि नगरपालिकाले भने पुराना तथा जीर्ण संरचनाको स्थानमा नयाँ र व्यवस्थित पूर्वाधार निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ । नगरपालिकाका अनुसार पुरानो स्टल बजारको व्यवस्थापन सम्पन्न भएपछि सो क्षेत्रलाई आधुनिक सहरको अवधारणाअनुरूप विकास गरिनेछ । नयाँ संरचनाले व्यापारिक गतिविधिलाई थप व्यवस्थित बनाउनुका साथै सर्वसाधारण नागरिकलाई सहज सेवा र सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

नगरपालिकाले आगामी निर्माण कार्यमा सुरक्षा, सौन्दर्य, व्यवस्थित बजार व्यवस्थापन तथा सार्वजनिक उपयोगितालाई प्राथमिकतामा राखिने जनाएको छ । नगरपालिकाले नयाँ पूर्वाधार निर्माणसँगै उक्त क्षेत्रलाई आधुनिक सहरी केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यससँगै सिन्धुलीको पहिचान बनेको पुरानो स्टल बजार इतिहासको पानामा सीमित भएको छ । भूकम्पपछि लामो समयसम्म अनिश्चिततामा रहेको संरचनाको अन्त्यसँगै अब त्यस स्थानमा नयाँ स्वरूपको बजार र सार्वजनिक पूर्वाधार निर्माण हुने अपेक्षाले स्थानीयवासी उत्साहित देखिएका छन् ।

प्रतिक्रिया