शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रोग–कीरा नियन्त्रणमा कमलामाईको पहल

शुक्रवार , जेठ २२, २०८३

सिन्धुली,२२ जेठ – कमलामाई नगरपालिका–११ का विभिन्न बस्तीका किसानलाई लक्षित गर्दै एकदिने बाली उपचार शिविर सम्पन्न गरिएको छ । कृषकका खेतबारीमा देखिएका रोग तथा कीराको पहिचान गरी त्यसको प्रभावकारी व्यवस्थापनका उपायबारे जानकारी प्रदान गर्ने उद्देश्यले कमलामाई नगरपालिका कृषि विकास शाखाले शिविर आयोजना गरेको हो ।

नगरपालिकाका अनुसार वडा नम्बर ११ अन्तर्गतका भिरगाउँ, चिसापानी, फाल्चुरी, आपडाँडा तथा फिटिङ क्षेत्रका कृषकहरूलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त शिविरमा प्राविधिक टोलीले खेतबारीमै पुगेर बालीनालीको अवस्था अवलोकन गरेको थियो । निरीक्षणका क्रममा विभिन्न बालीमा देखिएका रोग, कीरा तथा अन्य समस्याको स्थलगत पहिचान गरिएको कृषि विकास शाखाले जनाएको छ ।


शिविरमा सहभागी कृषकहरूलाई पहिचान गरिएका रोग तथा कीराको प्रभावकारी नियन्त्रण र व्यवस्थापनका विधिबारे विस्तृत रूपमा जानकारी दिइएको थियो । साथै, रोग तथा कीराका कारण उत्पादनमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्दै बालीनालीलाई थप क्षति हुनबाट जोगाउने उपायबारे समेत प्राविधिक परामर्श प्रदान गरिएको थियो ।

कृषि उत्पादनलाई सुरक्षित र गुणस्तरीय बनाउन किसानलाई जैविक विधिमा आधारित व्यवस्थापन प्रणाली अपनाउन प्रोत्साहित गरिएको शाखाले जनाएको छ । सोही क्रममा रोग तथा कीरा नियन्त्रणका लागि आवश्यक जैविक विषादी निःशुल्क रूपमा वितरण गरिएको थियो । कृषकहरूले प्राप्त गरेको जैविक विषादीलाई प्राविधिक सुझावअनुसार प्रयोग गर्न आग्रह गरिएको छ ।

कृषि विकास शाखाका प्राविधिकहरूले खेतबारीमै पुगेर समस्या पहिचान गरी समाधानका उपाय सुझाउँदा किसानहरू उत्साहित बनेका थिए। स्थानीय स्तरमा देखापर्ने कृषि समस्याको समयमै निदान र व्यवस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

शिविरबाट वडा नम्बर ११ का विभिन्न बस्तीका ठूलो संख्यामा कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाइएको छ । कृषि क्षेत्रमा देखिने रोग तथा कीराको प्रकोप न्यूनीकरण गर्दै उत्पादन वृद्धि र किसानको आम्दानी अभिवृद्धि गर्ने लक्ष्यसहित यस्ता प्राविधिक सेवा आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने कमलामाई नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया