सिन्धुली,२१ जेठ — गत वर्षको बाढीले गम्भीर रूपमा क्षतिग्रस्त बनाएको बिपी राजमार्गअन्तर्गत नेपालथोक–भकुन्डेबेँसी खण्डको पुनर्निर्माण तथा स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढाइएको छ । पूर्वी नेपाललाई राजधानी काठमाडौँसँग छोटो दूरीमार्फत जोड्ने रणनीतिक महत्वको यो सडकखण्ड पुनः सुरक्षित, व्यवस्थित र दीर्घकालीन बनाउन सरकारी निकायले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
बाढीका कारण करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुगेपछि विगत एक वर्षदेखि पुनर्निर्माणसँगै स्तरोन्नतिको काम जारी रहेको छ । सडक डिभिजन कार्यालय खाल्टे, सिन्धुलीका अनुसार क्षतिग्रस्त खण्डलाई व्यवस्थापन गर्न सिन्धुलीतर्फ एक र काभ्रेपलाञ्चोकतर्फ तीन गरी चार अलग–अलग प्याकेजमा ठेक्का सम्झौता गरी निर्माण कार्य सञ्चालन गरिएको छ ।
हाल सडकलाई फराकिलो बनाउँदै दुई लेनको राजमार्गमा रूपान्तरण गर्ने काम भइरहेको छ । यसका साथै राजमार्गमा रहेका पाँच वटा पुललाई समेत दुई लेन क्षमताको बनाउने योजना कार्यान्वयनमा रहेको कार्यालयले जनाएको छ । यसले आगामी दिनमा यातायात सञ्चालनलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख पारसमणि हमालका अनुसार सिन्धुलीतर्फ नेपालथोकदेखि बर्खेखोलासम्मको पाँच किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य हालसम्म ३८ प्रतिशत सम्पन्न भइसकेको छ । उक्त खण्डको निर्माण कार्य २०८४ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
प्रमुख हमालले निर्माणसँगै यातायात सञ्चालनलाई पनि व्यवस्थित बनाउने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार हाल प्रयोगमा रहेका डाइभर्सन हटाएर पुनर्निर्माण भइरहेकै सडकको ट्र्याकबाट सवारी सञ्चालन गराउने तयारी गरिएको छ । निर्माण कार्यमा कुनै अवरोध नआए तथा मौसम अनुकूल रहे आगामी असार १५ देखि २० गतेभित्रै नयाँ ट्र्याकमार्फत सवारी साधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको उनले बताए ।
यस वर्ष मनसुनका बेला रोसी खोलामा आउने सम्भावित बाढीलाई मध्यनजर गर्दै सडक पुनर्निर्माणलाई दीर्घकालीन सुरक्षासँग जोडिएको छ । बाढीका कारण पुनः क्षति नहोस् भन्ने उद्देश्यले संवेदनशील क्षेत्रमा आरसिसी वाल, प्लम्ब वाल निर्माण तथा सडक चौडा पार्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । निर्माणको वर्तमान गति हेर्दा आगामी वर्षायाममा यातायात अवरुद्ध हुने जोखिम न्यून हुने विश्वास सम्बन्धित निकायको छ ।
कार्यालयका अनुसार बर्खेखोलादेखि डालाबेँसीसम्मको करिब साढे पाँच किलोमिटर सडकखण्डको पुनर्निर्माण तथा स्तरोन्नति कार्य जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारको सहकार्यमा अघि बढाइएको छ ।
कुल १६० किलोमिटर लम्बाइ रहेको बिपी राजमार्ग जापान सरकारको सहयोगमा २०५३ सालदेखि निर्माण सुरु गरिएको थियो। झन्डै दुई दशक लामो निर्माण प्रक्रियापछि २०७२ सालमा सम्पन्न भएको यो राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। पूर्वी नेपाल र काठमाडौँबीचको आवागमनलाई सहज बनाउने प्रमुख मार्गका रूपमा स्थापित बिपी राजमार्ग अहिले पुनर्निर्माणको महत्वपूर्ण चरणबाट गुज्रिरहेको छ ।