सिन्धुली,२१ जेठ — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ हाकपारास्थित मदनभण्डारी राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । बुधबार बिहान करिब ७ः२० मिनेटतिर सडक पार गर्ने क्रममा स्थानीय एक महिलालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हरिहरपुरगढी गाउँपालिका–४ हाकपारा निवासी ५६ वर्षीया विष्णु कुमारी राई सडक पार गरिरहेको अवस्थामा कटारीबाट हेटौँडातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००२ प ४०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकल दाङको घोराही उपमहानगरपालिका–१७ क्याम्पसचोक निवासी ३३ वर्षीय सुमन घिमिरेले चलाएका थिए ।
दुर्घटनामा परेर घाइते भएकी राईको टाउको, बायाँ हात तथा छातीमा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ । दुर्घटनापछि उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रझ्याडीमा लगेर प्रारम्भिक उपचार गरिएको थियो । त्यहाँ सामान्य उपचार सम्पन्न भएपछि थप उपचारका लागि बिहान सात बजेर ४२ मिनेटमा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनी इलाका प्रहरी चौकी झनझनेको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मदनभण्डारी राजमार्गअन्तर्गत उक्त क्षेत्रमा सवारी आवागमन बाक्लो हुने भएकाले सडक पार गर्दा विशेष सतर्कता अपनाउन स्थानीयवासी तथा यात्रुहरूलाई प्रहरीले आग्रह गरेको छ । साथै दुर्घटनाको कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।