सिन्धुली,२० जेठ – कमलामाई नगरपालिकाले व्यक्तिगत घटना दर्ता प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित समयमै घटना दर्ता गर्ने नागरिकलाई सम्मान गर्ने विशेष कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको पहलमा वडा नम्बर १३ र १४ मा उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने व्यक्ति तथा परिवारलाई सम्मान–पत्र प्रदान गरिएको हो ।
नगरपालिकाका अनुसार जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराइजस्ता व्यक्तिगत घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई अनलाइन माध्यमबाट दर्ता गराउने नागरिकलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो । स्थानीय तहमा घटना दर्ताको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नागरिकलाई समयमै सेवा लिन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
वडा नम्बर १३ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष केशरबहादुर कार्कीको अध्यक्षता रहेको थियो । कार्यक्रममा नगर कार्यपालिका सदस्य देवी देवकोटा, वडा सचिव सृजना अधिकारी तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो । त्यसैगरी वडा नम्बर १४ मा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष राजन न्यौपाने, वडा सदस्यहरू, वडा सचिव अनन्तराज पोखरेल तथा सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका एमआइएस अपरेटर अलिशा खत्री र भानुभक्त श्रेष्ठसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा नगरपालिकाले समयमै घटना दर्ता गर्ने नागरिकको सक्रियता स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउन महत्वपूर्ण रहेको उल्लेख गरेको छ । यस्ता गतिविधिले नागरिक अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै डिजिटल तथ्याङ्क प्रणालीको विश्वसनीयता र प्रभावकारिता वृद्धि गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।
‘समयमै घटना दर्ता गरौँ, राज्यको सुविधा सुरक्षित गरौँ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आफ्नो नागरिक कर्तव्य निर्वाह गर्ने सम्पूर्ण नगरबासीप्रति नगरपालिकाले बधाई तथा सम्मान व्यक्त गरेको छ । साथै समयमै घटना दर्ता गर्ने अभ्यासले सरकारी सेवा तथा सामाजिक सुरक्षा योजनामा पहुँच सुनिश्चित गर्न सहज हुने पनि नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आगामी दिनमा पनि सबै नगरबासीलाई व्यक्तिगत घटना घटेको ३५ दिनभित्र अनिवार्य रूपमा दर्ता गराई जिम्मेवार नागरिकको परिचय दिन आग्रह गरेको छ । नागरिकको सक्रिय सहभागिताबाट सुशासन प्रवद्र्धन, अभिलेख व्यवस्थापनको आधुनिकीकरण तथा डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।