शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

तामाकोशीमा हराएका बालक सुनकोशीमा मृत फेला

सोमवार , फाल्गुण ४, २०८२

सिन्धुली,०४ माघ – रामेछापको मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिक तामाकोशी नदीमा बस खसेर बेपत्ता भएका एक बालकको शव करिब एक सातापछि सिन्धुलीमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदी किनारमा सोमवार बिहान करिब ९ बजे शव भेटिएको हो ।

पुष्पलाल सडकखण्ड अन्तर्गत मन्थली–खुर्कोट हुँदै काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस माघ २७ गते तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनापछि हराइरहेका यात्रुहरूको खोजीकार्य जारी रहेकै क्रममा भेटिएको शव ९ वर्षीय कृचन तामाङको भएको पुष्टि भएको प्रहरीले जनाएको छ । उनको पहिचान ठूलोबुबा युबराज तामाङले गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कृचन तामाङ मन्थली नगरपालिका–२ पिप्ले निवासी हेमलाल तामाङका छोरा हुन् । दुर्घटनाको दिनदेखि नै उनी बेपत्ता थिए र सुरक्षाकर्मी, स्थानीयवासी तथा गोताखोरको टोलीले निरन्तर खोजीकार्य सञ्चालन गर्दै आएको थियो। नदीको बहावसँगै शव तलतिर बगेर सिन्धुली पुगेको अनुमान गरिएको छ । प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयारी भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया