शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मतदातामाझ थापा, जिततर्फ केन्द्रित अभियान

आइतवार , फाल्गुण ३, २०८२

सिन्धुली,०३ माघ – नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोजजंग थापाले सुनकोशी गाउँपालिका वडा नं. १ दुम्जा मादेवस्थान, आपघारी तथा वडा नं. २ ओख्रेनीका मतदातासँग आइतवार भेटघाट गरी प्रत्यक्ष संवाद गरेका छन् । भेटघाट तथा छलफल कार्यक्रममा स्थानीय बासिन्दाले उम्मेदवार थापालाई अग्रिम जितको शुभकामना व्यक्त गर्दै आफूहरूले भोगिरहेका आधारभूत समस्या खुलेर राखेका थिए ।

स्थानीयहरूले विशेषगरी सडक स्तरोन्नति, खानेपानीको अभाव, कृषिमा बजारको पहुँच, युवाहरूको रोजगारी तथा स्वास्थ्य सेवाको कमजोर अवस्थाबारे ध्यानाकर्षण गराएका थिए । “हामीलाई चुनावपछि पनि सम्झिने प्रतिनिधि चाहिएको हो,” एक स्थानीय वृद्धले भने । त्यसैगरी युवाहरूले विदेश पलायन रोक्ने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए भने महिलाहरूले सीपमूलक तालिम र आयआर्जन कार्यक्रम विस्तार गर्न माग गरेका थिए ।

उम्मेदवार थापाले जनताका समस्या समाधान गर्नु आफ्नो पहिलो कर्तव्य रहेको उल्लेख गर्दै विकासलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाए । “यहाँका सडक, खानेपानी र कृषिको समस्या समाधान नगरी समृद्धि सम्भव छैन । म निर्वाचित भएपछि योजना कागजमा होइन, व्यवहारमा देखिने गरी कार्यान्वयन गर्नेछु,” उनले भने । उनले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई स्वदेशमै रोजगारी दिलाउने र स्वास्थ्य चौकीहरूलाई सुदृढ बनाउने योजना पनि प्रस्तुत गरे ।

कार्यक्रममा बुद्धिजीवी, महिला तथा युवाको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले खुला रूपमा आफ्ना धारणा राखेका थिए भने उम्मेदवार थापाले सबै सुझावलाई योजनामा समेट्ने आश्वासन दिएका थिए । स्थानीय तहको विकास र जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयमा केन्द्रित संवादले मतदातामा सकारात्मक अपेक्षा बढाएको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया