शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सुमोको ठक्करबाट बालक गम्भीर घाईते

आइतवार , फाल्गुण ३, २०८२

सिन्धुली,०३ फागुन — सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एक बालक गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो करिब १२ बजे सोलुखुम्बुबाट काठमाडौतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदलयात्री बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला सोलुखुम्बु नेचसल्यान गाउँपालिका–२ बस्ने २७ वर्षीय गोपाल भुजेलले चलाएको उक्त सुमोले गोलन्जोर गाउँपालिका–२ निवासी ठाकुर बयलकोटीका करिब ८÷९ वर्षीय छोरा अषिक बयलकोटीलाई ठक्कर दिएको हो । दुर्घटनामा बालकको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनापछि तत्कालै स्थानीयवासीको सहयोगमा घाइते बालकलाई उपचारका लागि गोलन्जोर आधारभूत अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । चिकित्सकका अनुसार बालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुविधासम्पन्न अस्पताल रिफर गर्ने तयारी भइरहेको बुझिएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ग्वालटार र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले सुमो र चालक दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेको छ ।

प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गमा सवारीको गति नियन्त्रण तथा सडक सुरक्षामा कडाइ गर्न माग गरेका छन् । बालकको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया