सिन्धुली,०४ फागुन – माओवादी जनयुद्धकालमा जनयुद्धको आधारभुमी र वैचारिक प्रतिबद्धताको प्रतिक मानिएको सिन्धुलीको त्यो परिचय र पहिचान अहिले हराउँदै गएको छ । १० बर्षे शसस्त्र जनयुद्धको समयमा सिन्धुली जिल्लाले निर्वाह गरेको भुमीका, बलिदान र बैचारिक क्षेत्रमा पुर्याएको योगदान माओवादी आन्दोलनको बिघटन सँगै समाप्त हुने अवस्थामा पुगेको छ ।
शान्तिप्रक्रिया पछि चुनावी प्रतिसप्रर्धामा सहभागी बनेको माओवादीले २०६४ मा सिन्धुलीका दुई निर्वाचन क्षेत्र जित हात पारेर आफ्नो उपस्थितीलाई मजबुद्ध देखाएको थियो तर पछिल्लो समय माओवादी भित्र आएको विघटन र अवसरवादी ब्यवाहारले उस्को उपस्थिती खुम्चीदै गएको छ ।
२०६३ देखी २०८२ सम्म आईपुग्दा ५ पटक उस्ले आफ्नो पार्टीको नाम परिवर्तन गरिसकेको छ भने सक्ताको केन्द्रमै रहेको माओवादी ४ पटक आफ्नै नेतृत्वमा र ६ पटक गठबन्धन सरकारमा गरी जम्मा १० पटक सरकारमा सहभागी बनिसकेको छ ।
संसदीय राजनितिमा प्रवेश गरेपछिका १९ बर्षमा माओवादीबाट दर्जन भन्दा बढी शक्ति विभाजित भएर अन्य दल तथा समुहहरु निर्माण भईसकेका छन । पछिल्लो समय त माओवादीले आफ्नो पहिचानको नाम र चुनाव चिन्ह समेत परिवर्तन गरिसकेको छ ।
भदौ २३ र २४ को जेन्जी बिद्रोह पछि आसन्न् फागुन २१ मा हुन लागेको निर्वाचनमा माओवादी धाराकै थुप्रै पार्टीहरु निर्वाचनमा सहभागी बनेका छन । सिन्धुलीमा मुख्यत प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी, बावुराम भट्राई संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टी, विप्लब नेतृत्वको नेकपा(माओवादी) चुनावी मोर्चामा सहभागी छन ।
सिन्धुली जिल्लाको जनयुद्ध धाराका शक्तिशालि नेताहरु सिपी गजुरेल, हरिबोल गजुरेल, इश्वरी प्रसाद दाहाल, कुमार दाहाल, बलराम तिमल्सीना, सोनामसिंह स्याङतान, हरि बहादुर श्रेष्ठ, बुद्धिमान माझी, तुलाबहादुर माझी, महेश्वर दाहाल, एक बहादुर रानामगर, बर्ते बहादुर राई जस्ता नेताहरु प्रचण्ड नेतृत्वमा छैनन् भने मनोजजंग थापा, निरु दर्लामी, शान्तिमान कार्की, कमल दाहाल, गणेश वुढाथोकी, राम कुमार पौडेल जस्ता नेताहरु नेकपाको निरन्तरताको रुपमा नेकपा(एमाले)मा क्रियाशिल रहेका छन । यो सवै विभाजनले सिन्धुलीमा पुर्व माओवादी आन्दोलनको अस्तित्वनै संकटमा परिसकेको राजनैतिक विश्लेषकहरु बताउछन ।
सिन्धुली निर्वाचन क्षेत्र नं.२ मा नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ दाहाल, नेकपा(माओवादी)बाट बर्ते बहादुर राई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट निर्मल कुमार स्याङतान र प्रभावशाली नेता हरिबोल गजुरेलको प्रस्तावमा स्वतन्त्र उम्मेदवारको रुपमा महेश्वर दाहाल चुनावी मैदानमा छन ।
जनयुद्धका शक्तिहरु विभाजित भएर गाउँघरमा मत माग्न पुगिरहदा माओवादी जनयुद्धका कार्यकर्ता, शहिद परिवार, घाईते तथा वेपत्ता परिवार निराश छन । जनयुद्धका आफ्ना नेताहरुको अवसरका लागी यो विभाजन र लडाईले देखेर आफुहरु दुखि भएको शहीद परिवारहरु बताउछन ।
एक शहीद परिवारले सिन्धुली सौगातसँग भने, “हाम्रा आफ्न्तको बलिदानमा ब्यापार गर्नेहरु बढ्दै छन, उनीहरुले हामीलाई जिस्काईरहेको अनुभुती भएको छ । त्यस्को जवाफ हामी दिनेछौं ।” जनयुद्धको केन्द्रबिन्दु रहदै आएको यस भुमिमा पुर्व माओवादी धारका निष्ठावान नेता कार्यकर्ताहरुको बिग्रहपुर्ण अवस्था र अराजक र अवसरवादीहरुको बर्चश्व बढ्दै गएको देख्दा आफुहरु निराश बनेको उनले बताए । उनले पछिल्लो समय पार्टीको मुल नेतृत्वकै कारण सिन्धुली राता मान्छेहरु बिनाको लालकिल्ला बनेको गुनासो गरे ।
स्थानीय स्तरमा आयोजित भेला, भेटघाट र अनौपचारिक छलफलहरुमा पुराना कार्यकर्ताहरु खुलेरै असन्तुष्टि ब्यक्त गरिरहेका छन । संघर्षका कठिन बर्षहरुमा संगठन जोगाउनेहरुलाई आज पाखा लगाईदैछ, जवकी अवसर हेरेर आएका अनुहारहरु निर्णायक भुमीकामा रहेको उनीहरुको भनाई छ ।
पुर्व माओवादी आन्दोलनले बोकेको जनयुद्धको आदर्श र समतामुलक समाजको नाराबीच अहिलेको ब्यवाहारिक राजनिति बीचको दुरीले विवाद बढाएको छ । केहि नेताहरुले यसलाई समय अनुसारको रणनितिक रुपान्तरण भनेर बचाउ गरेपनि शहीद परिवार र निष्ठावान कार्यकर्ताहरुले यस्लाई बैचारिक बिचलनका रुपमा चित्रित गरेका छन ।
सिन्धुली केवल भौगोलिक जिल्ला मात्र होइन, माओवादी आन्दोलनको ऐतिहासीक स्मृतिसँग गासिएको नाम हो त्यहि भुमीमा निष्ठावानहरु किनारामा र अवसरवादीहरु केन्द्रमा देखिनु राजनैतिक सन्देशका हिसाबले अर्थपूर्ण मानिन्छ ।