शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशी गाँउपालिकाको गाउँगाउँ पुगे थापा : घरदैलोदेखि अन्तरक्रियासम्म सक्रिय

आइतवार , फाल्गुण ३, २०८२

सिन्धुली,०३ माघ — आसन्न निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नम्बर २ मा राजनीतिक गतिविधि तीव्र बनेको छ । यसै क्रममा नेकपा (एमाले) सिन्धुली क्षेत्र नं.२ का उम्मेदवार मनोजजंग थापाले सुनकोशी गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो तथा बौद्धिक वर्गसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद अगाडी बढाएका छन् । शनिवार वडा नम्बर ७ स्थित मझुवाबाट सुरु भएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले टीका, फूलमाला र खादा लगाएर उत्साहपूर्ण स्वागत गर्दै उनलाई सफलताको शुभकामना दिएका थिए ।

गाउँका टोलटोलमा पुगेका थापाले प्रत्येक घरमा पुगेर स्थानीयसँग कुराकानी गरे । भेटघाटका क्रममा बासिन्दाले खानेपानीको अभाव, कृषि उत्पादनको बजारीकरण, ग्रामीण सडकको दयनीय अवस्था, विद्यालयमा शिक्षक दरबन्दी कमी तथा स्वास्थ्य सेवाको पहुँचजस्ता समस्या खुलेर राखे । रोजगारी अभावका कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको गुनासो समेत धेरैले दोहो¥याए ।

स्थानीय किसान यज्ञबहादुर आचार्यले सडक समस्यातर्फ संकेत गर्दै भने, “वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण तरकारी बजार पु¥याउनै कठिन हुन्छ । चुनावमा नेताहरू आउँछन्, पछि फर्केर हेर्दैनन् ।” यस्तै महिला समूहकी सदस्य बिनिता भण्डारीले स्थायी खानेपानी व्यवस्थाको माग राख्दै अहिले प्रयोग भइरहेको मुहान सुक्दै गएको र गर्मीयाममा पानीका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको बताइन् ।

थापाले स्थानीयका समस्या ध्यानपूर्वक सुन्दै क्रमिक रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । “हामी केवल आश्वासन दिने राजनीति होइन, परिणाम देखिने राजनीति चाहन्छौं,” उनले भने, “सडक, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिएर विकासलाई गति दिने योजना छ ।” उनले कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि, किसानलाई मल, बीउ तथा प्राविधिक सेवा सहज उपलब्ध गराउने तथा तरकारी–फलफूलको बजार सुनिश्चित गर्न सहकारी र संकलन केन्द्र स्थापना गर्ने योजना अघि सारे ।

यसैबीच सुनकोशी गाउँपालिका–६ खाल्टेमा उनले स्थानीय बौद्धिक वर्गसँग अन्तरक्रियापनि गरे । कार्यक्रममा समाजसेवी, युवा प्रतिनिधि, कृषक अगुवा तथा सरोकारवालाहरूले रोजगारी अभाव, कमजोर पूर्वाधार, शैक्षिक गुणस्तर र स्वास्थ्य सेवाको पहुँचजस्ता विषय उठाएका थिए । विशेषगरी युवाको पलायन रोक्न स्थानीय स्तरमै आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने, पर्यटन सम्भावना उपयोग गर्नुपर्ने र सरकारी सेवा वितरण प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो ।

जवाफमा थापाले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर विकास कार्यक्रम अघि बढाइने बताए । कृषि आधुनिकीकरण, लघु उद्योग प्रवद्र्धन र पर्यटन पूर्वाधार निर्माणमार्फत रोजगारी सिर्जना गर्ने योजना रहेको उल्लेख गर्दै उनले युवालाई विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको बताए । साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाइने उनको भनाइ थियो ।

उनले सुशासनलाई पहिलो प्राथमिकता दिने उल्लेख गर्दै सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गरिने प्रतिबद्धता जनाए। नागरिकका सुझावलाई घोषणापत्रमा समेटिने उनले बताए। कार्यक्रमकै क्रममा देबीथान, गुठबजार लगायत अन्य बस्तीमा समेत उनले मतदातासँग भेटघाट गर्दै स्थानीय समस्या प्रत्यक्ष सुने ।

घरदैलो र अन्तरक्रियामा स्थानीय युवा, महिला समूह, ज्येष्ठ नागरिक तथा पार्टी कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको थियो । सहभागीहरूले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा सकारात्मक प्रतिक्रिया जनाउँदै निर्वाचनपछि पनि यस्तो भेटघाट निरन्तर रहनुपर्ने अपेक्षा व्यक्त गरे ।

निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रमा सबै दलका उम्मेदवार गाउँगाउँमा पुगेर मतदातासँग सम्पर्क बढाइरहेका छन् । विश्लेषकहरूका अनुसार स्थानीय समस्या समाधानको स्पष्ट योजना र निरन्तर सम्पर्क कायम राख्न सक्ने उम्मेदवारप्रति मतदाताको झुकाव बढ्ने देखिएको छ । यसैबीच थापाले विकासमुखी कार्यक्रमसहित जनतासँगको सम्बन्ध बलियो बनाउने रणनीतिलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया