शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा निर्वाचन सुरक्षा तयारी तीव्र

शनिवार , फाल्गुण २, २०८२

सिन्धुली,०२ माघ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सिन्धुली जिल्लामा संयुक्त सुरक्षा अनुगमन तथा गस्ती अभियान तीव्र बनाइएको छ । एकीकृत सुरक्षा योजना अनुसार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको नेतृत्वमा विभिन्न पालिकाका मतदानस्थलहरुको स्थलगत निरीक्षण र समन्वयात्मक भ्रमण जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिहरु सहभागी टोलीले सम्भावित संवेदनशील मतदान केन्द्रहरुको अवस्था, पहुँच मार्ग, सञ्चार व्यवस्था, भीड व्यवस्थापन तथा आकस्मिक सुरक्षाको तयारीबारे स्थलगत मूल्याङ्कन गरिरहेको छ । निरीक्षणका क्रममा मतदान केन्द्र आसपासको सुरक्षा घेरा, प्रहरी परिचालन योजना र आपतकालीन उद्धार तयारीबारे समेत आवश्यक निर्देशन दिइएको जनाइएको छ ।

सुरक्षा समितिका अधिकारीहरुले निर्वाचनको दिन कुनै अप्रिय घटना हुन नदिन अग्रिम तयारी स्वरूप संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको बताएका छन्। गाउँपालिकादेखि नगरपालिका क्षेत्रसम्मका मतदान केन्द्रमा सुरक्षा जोखिमको आकलन गरी आवश्यक थप जनशक्ति, मोबाइल टोली र रिजर्भ फोर्सको व्यवस्थापन योजना तयार पारिएको छ ।

स्थानीय तहका जनप्रतिनिधि तथा निर्वाचन कर्मचारीसँगको छलफलमा मतदातालाई निडर भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ । प्रशासनले अफवाह नफैलाउन र शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन नागरिकलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्थालाई थप कडाइ गर्दै नियमित संयुक्त गस्ती, निगरानी र समन्वय बैठक निरन्तर सञ्चालन गरिनेछ । जिल्लाभर शान्ति सुरक्षा कायम राख्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा प्रशासनले जोड दिएको छ ।

प्रतिक्रिया