सिन्धुली,०२ माघ — इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ आलडाँडा क्षेत्रमा शनिबार बिहान करिब ११ः४५ बजे बिजुलीको पोलमा चढेर काम गरिरहेका तिनपाटन गाउँपालिका–२ कदमे स्थायी घरभई हाल कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा बस्ने ४२ वर्षीय रामलाल श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार श्रेष्ठकास्थानीय स्तरमा इन्टरनेट (नेट) जडानसम्बन्धी काम गर्दै आएका उनी पोलमा चढेर तार व्यवस्थापन गर्ने क्रममा अचानक विद्युत् प्रवाहले छोएपछि अचेत भई पोलबाट तल खसेका थिए ।
घटनालगत्तै स्थानीयवासीले उनलाई उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पु¥याएका थिए । अस्पतालमा उपचार भइरहेको अवस्थामा दिउँसो करिब १ः०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रारम्भिक अनुसन्धानमा सुरक्षा उपकरण प्रयोग नगरी काम गर्दा करेन्ट लागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ प्रहरीको भनाई छ ।