सिन्धुली,०२ फागुन — नेकपा (एमाले) सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंग थापाले सुनकोशी गाउँपालिका वडा नम्बर ७ नागि मझुवामा शनिवार घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । गाउँका टोलटोलमा पुगेका उनलाई स्थानीय बासिन्दाले टीका, फूलमाला र खादा लगाएर उत्साहपूर्वक स्वागत गर्दै आगामी निर्वाचनमा विजयी बन्ने शुभकामना व्यक्त गरेका थिए ।
घरदैलोका क्रममा उम्मेदवार थापा प्रत्येक घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । स्थानीयले खानेपानी अभाव, कृषि उत्पादनको बजार व्यवस्थापन, ग्रामीण सडक स्तरोन्नति, विद्यालयमा शिक्षक दरबन्दीको कमी तथा स्वास्थ्य सेवाको पहुँचजस्ता समस्याहरू खुलेर राखेका थिए । कतिपयले रोजगारीका अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको गुनासो समेत गरे ।
स्थानीय किसान यज्ञ बहादुर आर्चायले भने, “सडक वर्षामा हिलाम्मे हुन्छ, हिउँदमा धुलाम्मे हुन्छ । तरकारी बेच्न बजार पुग्नै कठिन छ । नेताहरू चुनावमा आउँछन्, पछि फर्केर हेर्दैनन् ।” यस्तै, महिला समूहकी सदस्य बिनिता भण्डारीले गाउँमा स्वस्थ खानेपानीको स्थायी व्यवस्था हुनुपर्ने माग राखिन् । उनका अनुसार अहिले प्रयोग भइरहेको मुहान सुक्दै गएको छ र गर्मीयाममा पानीका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको छ ।
उम्मेदवार थापाले स्थानीयका समस्या ध्यानपूर्वक सुन्दै क्रमिक रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनपछि जनतासँगको सम्पर्क अझ बलियो बनाउने भन्दै आफू विकासमुखी योजना लिएर अघि बढेको बताए । “हामी केवल आश्वासन दिने राजनीति होइन, परिणाम देखिने राजनीति चाहन्छौं,” उनले भने, “यस क्षेत्रको सडक, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिइनेछ ।”
उनले सुनकोशी क्षेत्रको कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन बढाउने योजना रहेको जानकारी दिए । किसानलाई मल, बीउ र प्राविधिक सेवा सहज रूपमा उपलब्ध गराउने, उत्पादित तरकारी तथा फलफूलको बजार सुनिश्चित गर्न सहकारी र संकलन केन्द्र स्थापना गर्ने योजना उनले सुनाए । साथै युवालाई गाउँमै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम र साना उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रमका क्रममा उनले ग्रामीण सडक कालोपत्रे गर्ने र स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति तथा औषधि उपलब्ध गराउने विषयमा पनि जोड दिए । “जनताले भोगिरहेको समस्या चुनावपछि पनि मेरो प्राथमिकतामा रहनेछ,” उनले भने, “यो क्षेत्र विकासमा पछाडि पर्नु हुँदैन, त्यसका लागि सबैको साथ आवश्यक छ ।”
घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला समूह, ज्येष्ठ नागरिक तथा पार्टी कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको एमालेका स्थानीय ले हरूले जनाएका छन् । पार्टीका कार्यकर्ताले गाउँगाउँमा संगठन विस्तार र मतदाता भेटघाटलाई तीव्र बनाउने बताएका छन् ।
स्थानीय बासिन्दाले यसपटक उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूले निर्वाचनपछि पनि यस्तो भेटघाट निरन्तर रहनुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नम्बर २ मा राजनीतिक दलहरूको घरदैलो कार्यक्रम तीव्र बनेको छ । मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने रणनीतिसहित उम्मेदवारहरू गाउँगाउँमा पुगिरहेका छन् । यस्तो अवस्थामा स्थानीय समस्या समाधानको स्पष्ट योजना प्रस्तुत गर्न सक्ने उम्मेदवारलाई जनताले प्राथमिकता दिने विश्लेषकहरूको भनाइ छ ।