फोटो : सिन्धुली मंसिर चार
सिन्धुली,०२ फागुन — राजनीति प्रायः आरोप–प्रत्यारोप र कटु प्रतिस्पर्धासँग जोडेर हेरिने गरिन्छ । तर सिन्धुली क्षेत्र नम्बर १ मा जारी निर्वाचन गतिविधिले भने फरक सन्देश दिएको छ, यहाँ प्रतिस्पर्धा छ, तर वैरभाव छैन, मतभेद छ, तर मनभेद छैन ।
जनकपुरको विद्यार्थी जीवनदेखि सुरु भएको मित्रता आज लोकतान्त्रिक प्रतिस्पर्धाको मैदानमा पनि उत्तिकै सम्मानका साथ उभिएको देखिन्छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार प्रदीप कटुवाल र नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार उज्वल बराल अहिले फरक–फरक राजनीतिक विचार र कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेका छन् । दुवै जना आफ्नो दलको नीति, योजना र विकास दृष्टिकोण प्रस्तुत गर्दै मतदातासँग संवादमा व्यस्त छन् ।
स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म देखिँदै आएको तिक्त राजनीतिक वातावरणको बीचमा सिन्धुली–१ को यो दृश्यले सकारात्मक सन्देश दिएको स्थानीयवासी बताउँछन् । चुनाव विचार र कार्यक्रमको प्रतिस्पर्धा हुनुपर्नेमा व्यक्तिगत सम्बन्धको कटुता जोडिने प्रवृत्तिलाई यहाँको अभ्यासले चुनौती दिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार लोकतन्त्रको परिपक्वता प्रतिस्पर्धाको शैलीबाट झल्किन्छ । प्रतिस्पर्धीबीच सम्मान कायम रहनु लोकतान्त्रिक संस्कारको मूल तत्व हो । मतदातालाई प्रभाव पार्ने कुरा व्यक्तिगत आक्रमण होइन, प्रस्तुत गरिएका नीति र विकासका योजनाहरू हुनुपर्छ भन्ने अभ्यास यहीँ देखिएको छ ।
घरदैलो अभियानका क्रममा दुवै उम्मेदवारले एकअर्काप्रति सम्मान व्यक्त गर्दै आफ्ना कार्यक्रम अघि सारेका छन् । एउटै समाजमा बसेर फरक विचार राख्नु स्वाभाविक भएको र लोकतन्त्रको सुन्दरता पनि यही विविधतामा रहेको उनीहरूको भनाइ छ ।
स्थानीय युवाहरू भन्छन्, “हामीले नेताहरूबाट यही संस्कार सिक्न चाहेका हौँ । प्रतिस्पर्धा गरौँ तर सम्बन्ध नटुटोस् ।” सामाजिक सञ्जालमा समेत यो दृश्यलाई ‘स्वस्थ राजनीति’को उदाहरणका रूपमा चर्चा गरिएको छ ।
सिन्धुली–१ को यो चुनावी वातावरणले स्पष्ट सन्देश दिएको छ, “ राजनीति वैचारिक प्रतिस्पर्धा हो, वैरभाव होइन । मित्रता कायम राख्दै सिद्धान्तमा अडिग रहन सकिन्छ भन्ने लोकतान्त्रिक संस्कारको जिवन्त उदाहरण यही चुनावी मैदान बनेको छ ।”