शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एमाले सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंग थापाको प्रतिवद्धतापत्र सार्वजनिक

बुधवार , माघ २८, २०८२

सिन्धुली,२८ माघ – प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनोज जंग थापाले “सामाजिक सद्भाव, एकता, न्याय, समानता र समृद्ध राष्ट्र निर्माण हाम्रो अभियान” भन्ने मूल नारासहित आफ्नो विस्तृत प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञा–पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, रोजगारी तथा सुशासनका क्षेत्र समेटिएका छन् ।

कृषि तथा ग्रामीण विकासतर्फ थापाले कमला, मरिण, सुनकोशी लगायत स्थानीय नदीहरू तथा खहरेको कटानबाट संरक्षण गर्दै सिंचाई सुविधा विस्तार गरी सिंचाई प्रणालीलाई व्यवस्थित बनाइने बताएका छन् । किसानलाई बीउ बिजन र मलखादमा सहज पहुँच पु¥याइ कृषि सहकारीमार्फत सशक्तीकरण गरिने उल्लेख गरिएको छ । सिन्धुलीको जुनार, सुन्तला, अदुवा, तरकारी, आलु लगायत फलफूल तथा कृषिजन्य उत्पादन प्रणालीलाई आधुनिकीकरण, ब्रान्डिङ र बजारिकरण गरिने प्रतिबद्धता जनाइएको छ । पशुपंक्षीको व्यवसायिक पालन, प्रवद्र्धन र बजारीकरणमा टेवा पु¥याइने तथा घ्याङलेखलाई जडिबुटी उत्पादनको केन्द्रका रूपमा विकास गरिने योजना पनि समावेश गरिएको छ ।

शिक्षा र मानव संशाधन विकास अन्तर्गत प्रत्येक पालिकामा स्थानीय आवश्यकताको आधारमा प्रविधिमैत्री शिक्षाको विकास गरिने बताइएको छ । कृषि, पर्यटन र प्राविधिक क्षेत्रमा रोजगारी प्रवद्र्धनका लागि शिप तथा क्षमता विकासका अवसर सिर्जना गरिनेछ । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन तथा फर्किएका व्यक्तिको सीप र अनुभव अन्य व्यक्तिमा ट्रान्सफर गर्न सीप तालिम केन्द्र स्थापना गरिने योजना सार्वजनिक गरिएको छ । समुदायबाट सञ्चालित क्याम्पसहरूलाई आंगिक क्याम्पस बनाउन पहल गरिने, प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस मरिणलाई स्नातकोत्तर तहमा अपग्रेड गरी भेटेनरी विषय थप गर्न प्रयास गरिने उल्लेख छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रमा छात्रवृत्ति व्यवस्था, अपाङ्गमैत्री शिक्षा तथा सीप विकास, खेलकुदको सर्वाङ्गीण विकासमार्फत रोजगारी सिर्जना र कमलामाई नगरलाई शैक्षिक हबको रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

स्वास्थ्य सेवातर्फ सिन्धुली प्रादेशिक अस्पतालको स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सक र आधुनिक उपकरण व्यवस्थापन गरिने योजना अघि सारिएको छ । प्रत्येक पालिकामा विशेषज्ञ सहित १५ शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना, हरेक वडामा स्वास्थ्य चौकी र मातृ–शिशु स्वास्थ्यमा विशेष ध्यान पु¥याइने उल्लेख गरिएको छ । दुर्गम क्षेत्रमा मोबाइल हेल्थ क्लिनिकमार्फत नियमित सेवा प्रदान गरिने तथा सिन्धुली प्रादेशिक अस्पतालमा छुट्टै युनिट खडा गरी जलन पीडितको निशुल्क उपचार, पुनःस्थापना र न्याय निरुपणमा सहजिकरणको प्रबन्ध गरिने बताइएको छ । स्वास्थ्य विमा कार्यक्रमलाई सरल र सहज बनाउन नीतिगत सुधारमा पहल गरिनेछ ।

पूर्वाधार विकास अन्तर्गत चियाबारी–खुर्कोट सुरुङमार्गका लागि पहल गरिने, ग्रामिण सडक स्तरोन्नति र कालोपत्रेमा जोड दिइ प्रत्येक गाउँसम्म मोटरबाटो विस्तार गरिने प्रतिबद्धता छ । संचार पहुँच नभएको स्थानमा पूर्वाधार विकास, प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको ग्यारेन्टी, हरीहरपुरगढी र घ्याङलेखका विद्युत नपुगेका स्थानमा विद्युत व्यवस्थापन गरिने उल्लेख गरिएको छ । मरिण र हरिहरपुरगढीलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने, मरिणमा सञ्चालन हुने मासु प्रशोधन उद्योगबाट लाभ लिन राँगा तथा भैंसी पालनमा किसानलाई प्रोत्साहन गरिने योजना छ । सुनकोशी–मरिण डाइभर्सनलाई थप व्यवस्थित गर्दै मरिण नदी नियन्त्रणका लागि विशेष पहल गरिने, पहाडी क्षेत्रलाई हिलटाउनको रूपमा विकास गरिने तथा मरिण र हरिहरपुरगढीलाई स्मार्ट सिटी बनाउन पहल गरिने जनाइएको छ । खानीको पहिचान र उत्खनन् मार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य पनि प्रतिज्ञा–पत्रमा समेटिएको छ ।

पर्यटन र संस्कृतिको विकासका लागि सिन्धुलीगढी, हरिहरपुरगढी लगायत ऐतिहासिक सम्पदालाई पर्यटन गन्तव्यका रूपमा विकास गरिने बताइएको छ । कमलामाई, कुशेश्वर महादेव, विभिन्न गुम्बा, चर्च लगायत धार्मिक स्थलहरूलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा प्रवद्र्धन गरिने उल्लेख छ । लोक संस्कृति र परम्पराको संरक्षण तथा विकास गर्दै सुनकोशीमा जल लगायत पर्यटन हवको रूपमा विकास गरिने तथा घ्याङलेखको फापरचुलिमा पर्यटन पूर्वाधार विस्तार गरिने योजना अघि सारिएको छ ।

रोजगारी र उद्यमशीलता प्रवद्र्धन अन्तर्गत युवालाई नवप्रवर्धनमार्फत कृषि, पर्यटन र उद्योगमा लगानीको वातावरण तयार गरिने बताइएको छ । विदेश गएका युवालाई पुनःस्थापनाका लागि सीपअनुसार रोजगारी सिर्जना गरिने तथा महिला उद्यम प्रोत्साहनमार्फत महिलाकै नेतृत्वमा व्यवसाय सञ्चालनका लागि नीतिगत व्यवस्था गरी आत्मनिर्भर बनाइने प्रतिबद्धता जनाइएको छ । कर तिर्न झन्झट सिर्जना भएको अवस्थाको समाधानमा विशेष पहल गरिने, लगानीमैत्री वातावरण निर्माण गरी व्यवसायीको लगानी सुरक्षा, कर छुट र झन्झटिला प्रक्रिया हटाउने नीतिगत पहल गरिने उल्लेख गरिएको छ ।

सुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै राज्यका तीनै तहमा नीतिगत सुधार गरिने, भ्रष्टाचार नियन्त्रणका लागि डिजिटल प्रणालीमार्फत सेवा विस्तार गरिने र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइने बताइएको छ । साथै, सिन्धुली क्षेत्र नं. २ का नागरिकले निर्वाचित गरेका उम्मेदवारमार्फत नीति निर्माणमा पहुँच र हस्तक्षेप सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

उल्लेखित नीतिगत प्रतिज्ञासहित अन्य स्थानीय आवश्यकता र परिस्थितिगत समस्याको समाधानका लागि सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै प्रचार प्रसार समितिले ‘सुर्य’ चिन्हमा मतदान गरी मनोज जंग थापालाई अत्यधिक मतले विजयी गराउन आह्वान गरेको छ ।

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

 

 

प्रतिक्रिया