सिन्धुली,२७ माघ – कमलामाई नगरपालिका, सिन्धुलीले अपाङ्गता भएका व्यक्तिका अभिभावक तथा स्याहारकर्तासँग सरोकार केन्द्रीत अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्थानीय तहको सामाजिक उत्तरदायित्व र समावेशी सेवाप्रति प्रतिबद्धता पुनः पुष्टि गरेको छ । मंगलबार वडा नं. १० मा सम्पन्न कार्यक्रमले अपाङ्गता भएका व्यक्तिका दैनिक आवश्यकता, सेवा–सुविधा पहुँच, र स्थानीय तहबाट उपलब्ध सहयोगका अवसरबारे गहन संवादको अवसर प्रदान गरेको थियो ।
कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष दिप बहादुर कार्कीको अध्यक्षतामा तथा कमलामाई नगरपालिकाका उप–प्रमुख मञ्जु देबकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो । नगरपालिकाका सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन् । अन्तरक्रियामा अभिभावक र स्याहारकर्ताले सेवा प्राप्तिमा देखिएका व्यवहारिक चुनौती, सूचना अभाव, पहुँच र समन्वयका विषय उठाएका थिए ।
कार्यक्रममा उठेका जिज्ञासा र सुझावलाई गम्भीरतापूर्वक सुन्दै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका हक–अधिकार संरक्षण, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर विस्तारमा स्थानीय तहको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । विशेषगरी पहिचान, सहायक सामग्री, परामर्श, र अभिभावक–स्याहारकर्ताको क्षमताविकासमा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने संकेत गरिएको छ ।
उपस्थित वक्ताहरूले अपाङ्गता भएका व्यक्तिलाई दया होइन अधिकारको दृष्टिले हेर्नु आवश्यक रहेको धारणा व्यक्त गर्दै नीति, बजेट र कार्यक्रम निर्माणमा सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गरे । अभिभावक र स्याहारकर्ताले पनि स्थानीय तहसँग सहकार्य गर्दै तथ्यपरक सुझाव र अनुभव साझा गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमको समापनमा सहभागीहरूबीच निरन्तर संवाद, नियमित अनुगमन र सेवा सुधारका लागि सहकार्य गर्ने सहमति बनेको थियो। स्थानीय तह, सरोकारवाला र समुदायबीचको यस्तो अन्तरक्रियाले अपाङ्गता भएका व्यक्तिका लागि समावेशी र सम्मानजनक वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।