सिन्धुली,२७ माघ – शनिबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल हेलिकप्टरमार्फत सिन्धुली सदरमुकाम कमलामाई नगरपालिकामा आई पुगे । पार्टी केन्द्रकै शीर्ष नेतृत्व आउने खबरले जिल्लाका भुइँतहका नेता–कार्यकर्तामा ठूलो अपेक्षा थियो, लामो समयदेखि अल्झिएको उम्मेदवार विवाद सुल्झिनेछ, गुट–उपगुटको गाँठो फुक्नेछ र पार्टी एकढिक्का भएर अघि बढ्नेछ । तर कार्यक्रम सकिँदा ती अपेक्षा पूरा भएनन्, उल्टै पार्टी नेतृत्वमाथि थप प्रश्न र असन्तोष थपिएको देखियो ।
सिन्धुली सदरमुकाममा आयोजना गरिएको भेला आकार र प्रभाव दुवै दृष्टिले कमजोर रह्यो । पार्टीका आधिकारिक उम्मेदवार भनिएका राजन दाहालले गाउँ–गाउँबाट बस, बोलेरो र मोटरसाइकल प्रयोग गरी करिब पाँच – छ सय मानिस जुटाए। त्यसका लागि सवारी साधन भाडा, इन्धन र मसलन्दमै पन्ध्र लाख रुपैयाँभन्दा बढी खर्च भएको अनुमान छ । यति खर्चिलो तयारीपछि पनि भेला पार्टीको आन्तरिक समस्या समाधान गर्ने हैसियतमा पुग्न सकेन ।
भेलामा संयोजक प्रचण्डले राजन दाहालको खुलेर पक्षपोषण गर्दै केही यस्ता दाबी गरे, जसलाई पार्टीकै नेता–कार्यकर्ताले तथ्यहीन र भ्रामक मानेका छन् । उनले हरिबोल गजुरेललाई तीनपटक आग्रह गर्दा पनि सिन्धुली–२ मा उम्मेदवार हुन नमानेपछि राजन दाहाललाई टिकट दिइएको दाबी गरे । तर यसअघि नै सार्वजनिक रुपमा हरिबोल गजुरेलले यो दाबीलाई असत्य सावित गरिसकेका छन् । जिल्ला पार्टीको उम्मेदवार सिफारिस समितिले सर्वसम्मत रुपमा सिन्धुली–२ का लागि फरक नाम सिफारिस गरेको तथ्य लुकाएर गरिएको यो अभिव्यक्तिले नेतृत्वको विश्वसनीयतामै प्रश्न उठाएको छ ।
त्यस्तै, प्रचण्डले राजन दाहाललाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय व्यक्तित्वसम्म भनेर प्रशंसा गरे । तर कार्यकर्ताबीच भने ‘राम्रो बोल्ने र राम्रो गर्नेबीचको भिन्नता नेतृत्वले बुझ्न नसकेको’ गुनासो सुनियो । संसदमा धाराप्रवाह बोल्न सक्ने क्षमताभन्दा पनि राजनीतिक नैतिकता, पारदर्शिता र जनउत्तरदायित्व मुख्य मापदण्ड हुनुपर्ने उनीहरूको तर्क छ ।
सिन्धुली भ्रमणको अर्को ठूलो अपेक्षा पार्टीलाई एकताबद्ध बनाउने पहल थियो । स्वयं प्रचण्डले पनि राजन दाहालका कमजोरी स्वीकार गर्दै ती नदोहोर्याउने प्रतिबद्धता जनाइएको बताएका थिए । तर ती कमजोरी के हुन्, कसरी सुधार हुन्छन् र त्यसले पार्टी एकतामा कसरी योगदान पुर्याउँछ भन्ने स्पष्टता आएन । कमजोरीमाथि सम्झौताहीन संघर्ष गर्ने अडान लिएका नेता–कार्यकर्तालाई सहमत गराउने राजनीतिक पहल देखिएन ।
यस भ्रमणसँगै सहसंयोजक माधवकुमार नेपालको भूमिकामाथि पनि प्रश्न उठेको छ । सधैं विधि र पद्धतिको वकालत गर्ने नेताले सिन्धुली–२ को उम्मेदवार विवादमा किन मौन समर्थन जनाए भन्ने जिज्ञासा व्यापक छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास र आन्तरिक न्यायको कुरा उठ्दा नेतृत्व स्वयं मौन बस्नुले गलत सन्देश गएको टिप्पणी गरिएको छ ।
सिन्धुलीको यो भेटघाटले सिन्धुलीमा पार्टीको आधार थप बलियो बनाउनेभन्दा पनि नेतृत्व र कार्यकर्ताबीचको दूरी उजागर गरिदिएको छ । अपेक्षा बोकेर बसेका कार्यकर्ताका प्रश्न अझै अनुत्तरित छन् । ती प्रश्नको जवाफ नदिएसम्म सिन्धुलीको यो भ्रमण पार्टी एकताको होइन, असन्तोषको प्रतीक बनेर रहने देखिन्छ ।