सिन्धुली,२६ माघ — कमलामाई नगरपालिकाको पुरानो सभाहलबाट काठ हिनामिना गरिएको आरोपबारे नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले सार्वजनिक रूपमा आफ्नो स्पष्टिकरण दिएका छन् । सोमवार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले उक्त घटनासँग आफू कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरेका छन् ।
नगरप्रमुख पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास शाखाबाट खटिएको टोली आफ्नो निवासमा छापा मार्न आएको जानकारी गराउँदै यसलाई अख्तियारले आफ्नो जिम्मेवारीअनुसार गरेको प्रक्रिया भएको बताए । “कानुनी निकायले अनुसन्धान गर्नु स्वाभाविक हो, यसलाई मैले सहज रूपमा लिएको छु,” उनले भने ।
उनका अनुसार आफू नगरप्रमुखमा निर्वाचित हुनुभन्दा अगावै पुरानो सभाहल भत्काउँदा निस्किएका काठहरू सभागृह निर्माणको जिम्मा पाएको ठेकेदारले नगरपालिकाको कम्पाउन्डभित्र सुरक्षित रूपमा राखेको थियो । “त्यतिबेला ती काठको आम्दानी नगरपालिकाले आम्दानी बाँधेको रहेनछ भन्ने जानकारी मैले पछि मात्रै पाएको हुँ,” उनले स्पष्ट पारे ।
मेयर पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा आफूले काठ हिनामिना गरेको भन्दै निराधार र भ्रामक अफवाह फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । “प्रमाणबिनै चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएको छ, यसले लोकतान्त्रिक अभ्यासलाई नै कमजोर बनाउँछ,” उनले भने ।
आफ्नो व्यक्तिगत जीवनबारे समेत उल्लेख गर्दै उनले आर्थिक रूपमा आफू सक्षम रहेको र पुराना काठको कुनै आवश्यकता नरहेको बताए । “मेरो निजी जीवन व्यवस्थित छ, सस्तो लोकप्रियताका लागि फैलाइने आरोपले सत्य बदलिँदैन,” उनको भनाइ थियो ।
नगरप्रमुख पोखरेलले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सत्य तथ्य बाहिर आउने विश्वास व्यक्त गरे । साथै उनले जनप्रतिनिधिमाथि लाग्ने आरोपलाई प्रमाण र तथ्यका आधारमा मूल्यांकन गर्न सबैलाई आग्रह गरे ।