सिन्धुली,२६ माघ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो निर्वाचन गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित क्षेत्रीय निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ । कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित माढीबजारमा स्थापना गरिएको उक्त कार्यालयबाट अब सम्पूर्ण निर्वाचन अभियान, प्रचार–प्रसार र संगठनात्मक गतिविधिहरू सञ्चालन गरिने पार्टीले जनाएको छ ।
एमालेका नेता–कार्यकर्ताहरूको उपस्थितिमा सोमवार औपचारिक रूपमा उदघाटन गरिएको उक्त कार्यालयले निर्वाचन अभियानलाई एउटै केन्द्रबाट निर्देशन दिने संरचना तयार गरेको प्रचार संयोजक कृष्णहरी घिमिरेले जानकारी दिए । उनका अनुसार अब क्षेत्र नम्बर २ भित्र गरिने सबै प्रकारका राजनीतिक कार्यक्रम, घरदैलो अभियान, सन्देश प्रवाह, प्रचार सामग्री वितरण तथा स्वयंसेवक परिचालन यही कार्यालयमार्फत समन्वय गरिनेछ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोजजंग थापाको चुनावी अभियानलाई थप सशक्त, मर्यादित र परिणाममुखी बनाउने लक्ष्यसहित कार्यालय स्थापना गरिएको बताइएको छ । थापा बौद्धिक क्षमता, शालिन व्यवहार र सार्वजनिक सरोकारप्रति जिम्मेवार नेताका रूपमा क्षेत्रवासीबीच परिचित रहेको भन्दै उनको छवि र एजेन्डालाई जनस्तरसम्म प्रभावकारी ढंगले पु¥याउन पार्टीले विशेष रणनीति अपनाएको जनाएको छ ।
एमालेले यसअघि नै कमलामाई नगरपालिकाका सबै वडामा निर्वाचन प्रचार कार्यालय स्थापना गरिसकेको छ । त्यसैगरी सुनकोशी, ध्याङलेख, मरिण र हरिहरपुरगढी गाउँपालिकाका वडाहरूमा पनि प्रचार कार्यालय स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिले जनाएको छ ।
क्षेत्रीय निर्वाचन परिचालन समितिकी संयोजक तथा एमाले केन्द्रीय सदस्य निरु दर्लामीका अनुसार पालिका र वडा तहसम्म पार्टीको संगठनलाई सक्रिय बनाउँदै निर्वाचन अभियानलाई जनकेन्द्रित बनाइँदै लगिएको छ । उनले तोकिएको समयभित्र सबै पालिकामा वडा स्तरीय प्रचार कार्यालय सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता व्यक्त गरिन् ।
“हामी केवल कार्यालय खोल्न मात्रै होइन, जनतासँग प्रत्यक्ष संवाद बढाउने उद्देश्यका साथ अघि बढिरहेका छौँ,” दर्लामीले भनिन्, “वडा तहसम्म संरचना विस्तार भएपछि स्थानीय समस्या, जनअपेक्षा र सुझावलाई केन्द्रीय अभियानसँग जोड्न सहज हुन्छ ।”
एमालेले निर्वाचन अभियानमा मर्यादित भाषा, तथ्यमा आधारित बहस र विकासमुखी एजेन्डालाई प्राथमिकतामा राखेको जनाएको छ । पार्टी नेतृत्वका अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी र कृषि क्षेत्रको विकासलाई मुख्य मुद्दा बनाउँदै जनताको घर–घरमा पुग्ने रणनीति तयार गरिएको छ ।
स्थानीयस्तरका कार्यकर्ताहरूका अनुसार केन्द्रीय परिचालन कार्यालय स्थापनाले अभियानमा नयाँ ऊर्जा थपेको छ । एउटै केन्द्रबाट निर्देशन, तालिका र जिम्मेवारी बाँडफाँड हुन थालेपछि कार्यकर्ता परिचालन थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा एमालेले सिन्धुली क्षेत्र नम्बर २ मा आफ्नो संगठनात्मक पकड थप मजबुत बनाउने संकेत देखिएको छ । पार्टीका गतिविधि तीव्र बन्दै गएका छन् भने उम्मेदवार थापाको प्रचार अभियानलाई योजनाबद्ध ढंगले अगाडि बढाउने तयारी स्पष्ट देखिन्छ ।