शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेकपा सिन्धुलीको अन्तरसंघर्षः समाधान गर्न प्रचण्डले चासो नदेखाएपछि विद्रोह

सोमवार , माघ २६, २०८२

सिन्धुली,२५ माघ – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुली–२ मा देखिएको आन्तरिक विवादले नेकपा (एकीकृत) भित्र गहिरो संकटको संकेत गरेको छ । पार्टीको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध पार्टीकै नेता महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि यो विवाद सतहमा आएको हो। झन् स्वतन्त्र उम्मेदवार दाहालको प्रस्तावक तत्कालीन माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल बसेपछि पार्टीभित्र तरंग नै पैदा भयो । अन्ततः पार्टी नेतृत्वले गजुरेल र महेश्वर दाहाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय ग¥यो ।

तर हरिबोल गजुरेलले भने आफूहरूको कदमलाई सामान्य उम्मेदवारी असन्तुष्टि मात्रको परिणामका रूपमा लिन नमिल्ने बताएका छन् । उनका अनुसार यो विद्रोह विगतदेखि उठाउँदै आएका राजनीतिक, वैचारिक र संगठनात्मक प्रश्नलाई केन्द्रीय नेतृत्वले बेवास्ता गरेपछि चालिएको अन्तिम कदम हो। सिन्धुलीमा गजुरेल पक्ष र लेखनाथ दाहाल पक्षबीच लामो समयदेखि अन्तरसंघर्ष चल्दै आएको र त्यसको समाधानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं जिम्मेवार रहेको आरोप उनले लगाएका छन् ।

गजुरेलका अनुसार उनले सिन्धुलीमा देखिएको अस्वस्थ अन्तरसंघर्ष समाधान गर्न पटक–पटक पार्टी नेतृत्वलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएका थिए । गत ९ असोजमा बसेको तत्कालीन नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा उनले २८ बुँदे लिखित सुझाव पेश गर्दै सिन्धुलीको विवादमा केन्द्रीय नेतृत्वको संलग्नता रहेको र त्यसैले समाधान पनि केन्द्रबाटै हुनुपर्ने माग राखेका थिए । “सिन्धुली घटनाबाट पार्टीले गम्भीर पाठ सिक्नुपर्छ र यसको विश्लेषण गरेर नयाँ आधारमा एकता र रूपान्तरणको प्रक्रिया सुरु गर्नुपर्छ,” उनको प्रस्तावमा उल्लेख थियो ।

त्यसैगरी १५ कार्तिकमा बसेको पार्टी सचिवालय बैठकमा गजुरेलले चार बुँदे प्रस्ताव पेश गर्दै पार्टीको विचार, राजनीति, कार्यशैली र ध्रुवीकरणबारे प्रश्न उठाएका थिए । सोही प्रस्तावमा उनले सिन्धुली जिल्लामा देखिएको वैचारिक र संगठनात्मक अन्तरसंघर्ष समयमै समाधान नगरे अन्य पार्टीगत काममा गम्भीर अवरोध आउने चेतावनी दिएका थिए । “केन्द्रीय नेतृत्व जोडिएको सिन्धुली जिल्लामा देखिएको अस्वस्थ अन्तरसंघर्षको उचित निरूपण र समाधान अपरिहार्य भइसकेको छ,” प्रस्तावमा भनिएको छ ।

गजुरेलले नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकता अघि नै सिन्धुलीको विवाद टुंग्याउनुपर्नेमा जोड दिएका थिए । तर उनका अनुसार केन्द्रीय नेतृत्वले समस्या समाधानमा तदारुकता देखाएन। पटक–पटक आग्रह गर्दा पनि चासो नदिइएपछि आफूहरू बाध्य भएर बागी उम्मेदवारीको बाटो रोज्नुपरेको उनको भनाइ छ ।

उनले ६ माघमा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तामार्फत विद्रोह गर्नुपरेको प्रसंग उल्लेख गर्दै यो कदम पार्टी सुधारका लागि चालिएको बताएका छन् । “यो केवल टिकटको विषय होइन । पार्टीभित्र मौलाउँदै गएको गलत प्रवृत्ति र अन्यायपूर्ण व्यवहारको विरोध हो,” उनले भने, “राजनीति बिग्रनुमा खराब मान्छेको कुकर्मले मात्र होइन, असल मान्छेको मौनताले पनि भूमिका खेल्छ । हामीले यही मौनता तोड्न विद्रोह गरेका हौँ ।”

सिन्धुलीको यो घटनाले नेकपाभित्र आन्तरिक लोकतन्त्र, विवाद समाधानको संयन्त्र र नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । निर्वाचनको मुखमा देखिएको यस्तो अन्तरसंघर्षले पार्टीको संगठनात्मक एकता र चुनावी परिणाममा कस्तो असर पार्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ ।

प्रतिक्रिया