सिन्धुली,२५ माघ – नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय नेतृत्वले जिल्ला पार्टीको सिफारिस बेवास्ता गर्दै सिन्धुली–२ को उम्मेदवारी आफैं तय गरेपछि पार्टीभित्र देखिएको असन्तुष्टि अब खुला विद्रोहको स्वरूपमा देखिन थालेको छ । विधि र पद्धतिको पक्षमा उठेको यो असन्तोषले निर्वाचनको मिति नजिकिँदै गर्दा पेचिलो राजनीतिक प्रभाव पैदा गरेको स्थानीय नेताहरूको ठम्याइ छ । आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिँदै जाँदा स्वतन्त्र उम्मेदवार महेश्वर दाहालको चुनाव चिन्ह ‘बस्ने मुढा’प्रति जनआकर्षण तीव्र रूपमा बढिरहेको देखिएको छ ।
यही परिवेशमा शनिबार हेलिकप्टरमार्फत सिन्धुली सदरमुकामको एक पार्टी प्यालेसमा आयोजित राजन दाहाल पक्षको भेलामा सहभागी भएका नेकपा संयोजक प्रचण्डले पूर्व वरिष्ठ नेता हरिबोल गजुरेलले चुनाव लड्न अस्वीकार गरेपछि राजन दाहाललाई टिकट दिइएको भन्ने तर्क अघि सारे । तर स्थानीय स्तरमा यो तर्कलाई झुटो र भ्रामक भन्दै आलोचना भइरहेको छ । भेलामा जनलहर कमजोर देखिएपछि प्रचण्डले चाँडै कार्यक्रम टुंग्याएर फर्किएको चर्चा पनि स्थानीय राजनीतिक वृत्तमा छ ।
अर्कोतर्फ महेश्वर दाहाल भने आन्तरिक भेला र घरदैलो अभियानमै व्यस्त छन् । सिन्धुली–२ अन्तर्गतका पालिका र वडा तहमा सञ्चालन भइरहेका भेला तथा घरदैलो कार्यक्रममा किसान, बुद्धिजीवी, नेकपासम्बद्ध नेता–कार्यकर्ता, समर्थक, अन्य दलका कार्यकर्ता र सर्वसाधारण मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ । धेरै मतदाताले यस निर्वाचनलाई वास्तविक जनप्रतिनिधि छान्ने अवसरका रूपमा लिँदै महेश्वरलाई सक्रिय साथ दिइरहेको देखिन्छ ।
महेश्वरलाई स्थानीय उम्मेदवारका रूपमा मात्र होइन, जनयुद्ध र जनआन्दोलनका कर्मठ सहभागी, सादगी र इमान्दार जीवनशैलीका प्रतीक, सुशासन र जननीतिका पक्षमा सम्झौताहीन संघर्ष गर्ने व्यक्तित्वका रूपमा मतदाताले लिएका छन् । जनपक्षिय वरिष्ठ पत्रकारका रूपमा बनाएको राष्ट्रिय पहिचानले पनि उनलाई सिन्धुली–२ मा ‘हेभिवेट’ उम्मेदवारको रूपमा स्थापित गरेको समर्थकहरूको भनाइ छ ।
पार्टीका वरिष्ठ नेता हरिबोल गजुरेल, जिल्ला इन्चार्ज वसन्त माझी, जिल्ला संयोजक पानीराज बम्जनसहित बहुमत जिल्ला नेता र पालिका तहका प्रभावशाली कार्यकर्ता खुला रूपमा महेश्वरको पक्षमा उभिएका छन् । त्यस्तै, अन्य दलका केही नेताकार्यकर्ता र समर्थकसमेत उनको अभियानमा जोडिन थालेका छन्, जसले निर्वाचनको समीकरण बदलिँदै गएको संकेत गरेको छ ।
महेश्वरले अरू उम्मेदवारझैं ‘यो गर्छु, उ गर्छु’ भन्दै विकासका चमत्कारी र भड्किला नारा नलगाएको बताइन्छ । बरु उनले एक जिम्मेवार जनप्रतिनिधिका रूपमा जनताको हक–अधिकारका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक न्याय र समृद्धिका आधारभूत प्राथमिकता तय गर्दै राज्य स्रोतको सामुदायिकरणमा आफू सधैं डटिरहने प्रण उनको मुख्य चुनावी एजेन्डा रहेको छ ।
त्यसैले उनको प्रचारशैली पनि भडकिलो र खर्चिलो छैन । चुनावी खर्चका लागि उनले ‘हजारे अभियान’ सुरु गर्दै स्वैच्छिक चन्दा मात्र स्वीकार गर्ने नीति अपनाएका छन्, जसले उनको अभियानलाई अझै जनमुखी बनाएको समर्थकहरू बताउँछन् ।
सुनकोशी–५ का स्थायी बासिन्दा महेश्वरलाई ‘टुरिष्ट उम्मेदवार’ सावित गर्न खोज्ने, उनका समर्थक वरिष्ठ नेता हरिबोल गजुरेलमाथि विभिन्न आरोप लगाउने, एमाले उम्मेदवारसँग भित्री साँठगाँठ भएको अतिरञ्जना गर्ने तथा महेश्वर पक्षमा उभिएका नेताकार्यकर्तालाई बदनाम गर्न खोज्ने प्रवृत्ति पनि देखिन थालेको छ । तर समुदायबाट प्राप्त अभूतपूर्व समर्थनले यस्ता आरोपहरूलाई कमजोर बनाइरहेको स्थानीयको प्रतिक्रिया छ ।
सिन्धुली–२ अन्तर्गत पर्ने हरिहरपुरगढी, मरिण, घ्याङलेख र सुनकोशी गाउँपालिका तथा कमलामाई नगरपालिकाका १–८ र १०–१२ वडामा देखिएको प्रारम्भिक जनसमर्थनले अन्य उम्मेदवार कमजोर बन्दै गएको र आफू अनुमोदित हुने विश्वास महेश्वर दाहालले व्यक्त गरेका छन् ।