सिन्धुली,२४ माघ – राजनीतिक दलभित्रको निर्णय प्रक्रियामाथि उठेको प्रश्न र त्यसको प्रतिविम्बस्वरूप देखिएको आन्तरिक असन्तुष्टि अहिले सिन्धुली–२ मा नयाँ बहसको केन्द्र बनेको छ । नेपाली कम्युनिष्ट पार्टीको केन्द्र नेतृत्वले स्थानीय संरचनाको सिफारिसलाई बेवास्ता गर्दै उम्मेदवार टुंग्याएपछि उत्पन्न भएको असहमति अब व्यक्तिगत असन्तोषमा सीमित छैन, बरु त्यसले जनस्तरमै फरक राजनीतिक चेतना जगाएको देखिन्छ ।
यही राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा, पार्टी निर्णयविरुद्ध विद्रोह गरेर ‘बस्ने मुढा’ चुनाव चिन्हसहित मैदानमा उत्रिएका महेश्वर दाहाललाई लिएर सिन्धुली–२ मा जनचासो बढ्दै गएको छ । आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिँदै जाँदा उनको उम्मेदवारीलाई ‘विकल्पको खोजी’ र ‘वास्तविक प्रतिनिधित्वको अवसर’का रूपमा बुझ्ने मतदाताको संख्या उल्लेख्य देखिन थालेको छ ।
हाल महेश्वर दाहाल घरदैलो अभियान र आन्तरिक भेलाहरूमा व्यस्त छन् । सिन्धुली २ नं.क्षेत्र अन्तर्गतका पालिका र वडामा भइरहेका यस्ता भेटघाटमा किसान, बुद्धिजीवी, पूर्वपार्टीकर्मी, स्वतन्त्र समर्थक तथा अन्य दलप्रति आस्था राख्ने नागरिकहरूको उल्लेख्य सहभागिता देखिन्छ । उनीहरूसँगको संवादमा एउटै प्रश्न दोहोरिरहन्छ ,“स्थानीय जनचाहनालाई बेवास्ता गरेर गरिने राजनीति कति लोकतान्त्रिक हुन्छ ?”
दाहाललाई समर्थन गर्नेहरूका अनुसार, उनको उम्मेदवारी कुनै पदलोलुपताको परिणाम होइन, बरु पार्टीभित्रको विधि, पद्धति र निर्णय प्रक्रियामाथिको असहमतिको राजनीतिक अभिव्यक्ति हो । जनयुद्ध र जनआन्दोलनको कठिन कालखण्ड पार गरेका, सादगी जीवनशैलीका परिचायक र सम्झौताविहीन संघर्षका पक्षधर व्यक्तित्वका रूपमा उनलाई चिन्नेहरू अहिले यही नैतिक पृष्ठभूमिलाई उनको सबल पक्षका रूपमा अघि सारिरहेका छन् ।
रोचक कुरा के छ भने, उनले अन्य उम्मेदवारहरूले जस्तै ठूला विकासे सपना र चमत्कारी घोषणाहरू अघि सारेका छैनन् । न त ‘यो गर्छु, त्यो बनाउँछु’ भन्ने लोकप्रिय तर अपूरा आश्वासनहरू नै दिएका छन् । बरु, एक जिम्मेवार जनप्रतिनिधिको भूमिकामा रहेर जनताको हक–अधिकार, सुशासन र नीति निर्माणको तहमा जनआवाज उठाउने प्रतिबद्धता उनको मुख्य राजनीतिक प्रस्ताव बनेको छ ।
उनको अभियानमा सहभागी धेरै मतदाताले राज्यस्रोतको उपयोग, सामाजिक न्याय र समावेशी विकासजस्ता विषयमा उनको स्पष्ट धारणा मन परेको प्रतिक्रिया दिएका छन् । विशेषगरी राज्यस्रोतको सामुदायिकरण र स्थानीय आवश्यकता अनुरूप प्रयोग हुनुपर्ने दृष्टिकोणलाई उनीहरूले व्यवहारिक र दीर्घकालीन सोचका रूपमा लिएका छन् ।
सिन्धुली क्षेत्र नं.–२ मा ‘बस्ने मुढा’ अहिले केवल एउटा चुनाव चिन्ह मात्र नभएर, पार्टी निर्णयविरुद्ध उठेको प्रश्न, स्थानीय स्वायत्तताको माग र वैकल्पिक राजनीतिक अभ्यासको प्रतीकझैँ बन्न थालेको छ । यसले चुनावी प्रतिस्पर्धालाई मात्र होइन, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र र जनउत्तरदायित्वमाथि पनि गहिरो बहस सिर्जना गरिरहेको छ ।
निर्वाचन नजिकिँदै जाँदा, यो जनलहरले अन्ततः मतपेटिकामा कस्तो परिणाम दिन्छ भन्ने कुरा त मतगणनापछि मात्र स्पष्ट हुनेछ । तर, सिन्धुली क्षेत्र नं.–२ मा देखिएको यो राजनीतिक तरंगले भने एउटा सन्देश पक्कै दिएको छ,“ स्थानीय आवाज र जनविश्वासलाई बेवास्ता गरेर गरिने राजनीति अब सहज रूपमा स्वीकार्य नहुन सक्छ ।”