शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको भरोसाः भुइँ मान्छेका नेता प्रदिप कटुवाल

शनिवार , माघ २४, २०८२

सिन्धुली,२४ माघ – सिन्धुलीको समकालीन राजनीतिक र सामाजिक यात्रामा प्रदिप कटुवाल एउटा नाम मात्र होइन, एउटा भरोसाको प्रतीक बनेका छन् । जिल्लामा विकासको कुरा उठ्नासाथ धेरैको मुखबाट पहिलोपटक उच्चारण हुने नाम उनी नै हुन् । वर्षौंदेखि पछाडि पारिँदै आएको सिन्धुलीलाई समावेशी विकासको दिशामा अघि बढाउने संकल्प र निरन्तरताका कारण उनी ‘भुइँ मान्छेको नेता’का रूपमा चिनिन पुगेका छन् । यो उपाधि कुनै भाषणको नारा होइन, मैदानमै देखिएको कर्मको परिणाम हो ।

कटुवालको राजनीतिक यात्राको मूल केन्द्र जनता नै हुन् । सादा जीवन र सादगी व्यवहार उनका पहिचान बनेका छन् । न त ठूला पल्टन, न त बनावटी तामझाम,उनको उपस्थितिले नै काम बोल्छ । कुर्सी र पदभन्दा माथि उठेर जनताको घर–घरमा पुग्ने, समस्या सुन्ने र समाधानतर्फ पहल गर्ने शैलीले उनलाई जनमनमा स्थापित गराएको छ । यही कारण उनको पहुँच कार्यालय र सभा–समारोहमा सीमित छैन, उनी सिन्धुलीका मन–मनमा बस्छन् ।

विकासका सूचकहरूमा सिन्धुलीमा देखिएको परिवर्तनसँग कटुवालको नाम जोडिनु संयोग होइन । शिक्षा,सडक विस्तारदेखि यातायातको पहुँचसम्म, योजना निर्माणदेखि कार्यान्वयनसम्म उनले अघि सारेका पहलहरू जिल्लाको दैनिकीमा प्रत्यक्ष अनुभूत भइरहेका छन् । दुर्गम बस्तीहरूलाई सदरमुकामसँग जोड्ने मार्गहरू, सेवा–सुविधामा सहजता र स्थानीय आवश्यकता अनुसारको पूर्वाधार विकासले सिन्धुलीको गतिशीलता बढाएको छ ।

विशेषगरी पूर्वी सिन्धुलीमा कटुवालप्रतिको विश्वास गहिरो देखिन्छ । लामो समयदेखि अवसरबाट टाढा रहेका क्षेत्रहरूमा उनले विकासलाई प्राथमिकतामा राखे । त्यसमध्ये शिक्षा उनको दृष्टिकोणको केन्द्रमा पर्छ । “शिक्षा बिना समृद्धि सम्भव छैन” भन्ने बुझाइलाई व्यवहारमा उतार्दै उनले पूर्वी भेगका विद्यार्थीहरूका लागि उच्च शिक्षाको ढोका नजिक्याए । आज विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि सदरमुकाम धाउनैपर्ने बाध्यता घटेको छ, जसको श्रेय स्थानीय स्तरमै शैक्षिक पहुँच विस्तार गर्ने प्राथमिकतामा जान्छ ।

कटुवालको सोच केवल वर्तमानमा सीमित छैन । परिवर्तन समयले ल्याउँछ, तर त्यसको सुरुआत मानिसको सोचबाट हुन्छ भन्ने मान्यतालाई उनले आत्मसात् गरेका छन् । यही सोचले सिन्धुलीमा दीर्घकालीन विकासको बहसलाई गति दिएको छ । योजनाहरू केवल कागजमा सीमित नराखी कार्यान्वयनमा जोड दिनु, स्थानीय सहभागितालाई महत्व दिनु र परिणाममुखी काममा जोड दिनु उनको कार्यशैलीको विशेषता हो ।

आज पनि उनका शब्द–शब्दमा विकासप्रतिको प्रतिबद्धता झल्किन्छ । भाषणभन्दा कामले बोल्ने उनको शैलीले जनतामा विश्वास जगाएको छ । यही विश्वासका कारण सिन्धुलीका नागरिकहरू भन्छन,“कटुवालले जिल्लालाई अर्को स्तरमा पु¥याउन सक्छन् । चुनौतीहरू कम छैनन्, तर स्पष्ट दृष्टि, निरन्तरता र जनतासँगको नजिकको सम्बन्धले ती चुनौतीहरू पार गर्न सकिने अपेक्षा गरिएको छ ।”

समग्रमा, सिन्धुलीको विकास यात्रामा प्रदिप कटुवाल विकल्प मात्र होइनन, आवश्यकता बनेका छन् । समावेशी, सन्तुलित र दिगो विकासका लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्छ; त्यो विश्वास कटुवालले समयक्रममा कमाएका छन् । त्यसैले आज सिन्धुलीको भरोसा र आवाजका रूपमा उनको नाम अगाडि आउनु स्वाभाविक देखिन्छ ।

प्रतिक्रिया