सिन्धुली,२४ माघ — धार्मिक आस्था, सांस्कृतिक चेतना र पर्यावरण संरक्षणको सन्देशलाई एकसाथ जोड्दै सिन्धुली जिल्लाको गौतमी र कमला नदीको संगमस्थलमा कमला सन्ध्या आरती शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ । पवित्र कमला नदीको महिमा उजागर गर्ने र यसको संरक्षणप्रति आम जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रमले स्थानीय स्तरमै नयाँ धार्मिक–सांस्कृतिक पहिचान स्थापित गरेको छ ।
कमलामाई मन्दिर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न आरती कार्यक्रममा स्थानीय श्रद्धालु भक्तजनदेखि लिएर जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका व्यक्तित्व र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आरतीका क्रममा दीप प्रज्वलन, वैदिक मन्त्रोच्चारण र भजन–कीर्तनले संगमस्थललाई आध्यात्मिक वातावरणले भरिपूर्ण बनाएको थियो ।
कार्यक्रममा बोल्दै कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादवले कमला नदी केवल धार्मिक आस्थाको प्रतीक मात्र नभई मानव सभ्यताको आधार भएको उल्लेख गरे । उनले नदी संरक्षणलाई जीवन र भविष्यको संरक्षणसँग जोड्दै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म साझा पहल आवश्यक रहेको बताए । त्यस्तै, कमलामाई क्षेत्रका अभियन्ता विश्वनाथ वरालले नदीको स्वच्छता र निरन्तरता कायम राख्न सके सांस्कृतिक र प्राकृतिक सम्पदाको रक्षा हुने धारणा व्यक्त गरे ।
कमलामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले गौतमी र कमला नदीको संगमस्थलमा पहिलो पटक सन्ध्या आरती सञ्चालन गरिएको जानकारी दिँदै आगामी दिनमा यसलाई नियमित रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाए । उाका अनुसार यो आरतीले धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
चुरे पहाडको काखमा उद्गमस्थल रहेको कमला नदी मधेश प्रदेश हुँदै भारतको बिहार राज्यसम्म बग्दै विभिन्न स्थानमा पवित्र देवीका रूपमा पूजा हुँदै आएकी छिन् । युगौँदेखि आस्था र संस्कृतिसँग जोडिएकी कमला नदी पछिल्लो समय दोहन, प्रदूषण र अतिक्रमणको चपेटामा पर्दै आएको सन्दर्भमा सम्पन्न यो सन्ध्या आरतीले संरक्षणको सशक्त सन्देश दिएको सहभागीहरूको भनाइ छ ।
धार्मिक आस्था र वातावरणीय जिम्मेवारीलाई एउटै सूत्रमा बाँध्ने यो पहलले कमला नदीको संरक्षण अभियानलाई थप गति दिने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् ।